गृहपृष्ठ क्यान मेलाको नौला प्रविधिप्रति आकर्षण, एकैदिन ८० हजारले गरे अवलोकन
क्यान मेलाको नौला प्रविधिप्रति आकर्षण, एकैदिन ८० हजारले गरे अवलोकन
राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको एकै दिन ८० हजार भन्दा बढीले अवलोकन गरेका छन् । नौला प्रविधि र प्रदर्शनी हेर्न चार दिनमै करिब अढाई लाख जना भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल पुगेका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेकमा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो । मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ ।
त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको मात्र उपयोग गरेर दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यावहारिक प्रयोग भइरहेको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । क्यान महासंघका महासचिव रञ्जित पोदारले यसपटकको सूचना प्रविधि मेला धेरै हिसाबले विगतको भन्दा भिन्न रहेको जानकारी दिए । ‘प्रविधिको प्रयोगमा रुचि राख्नेहरुका लागि यसपटकको मेला विगतको भन्दा धेरै भिन्न छ,’ उनले भने, ‘विगतमा हार्डवेयरमा केन्द्रित हुने गरेको प्रदर्शनी यसपटक सफ्टवेयर र त्यसको व्यावहारिक प्रयोगमा केन्द्रित छ ’ ।
मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ ।
बुधबार र बिहीबार प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराइएको थियो । बुधबार धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएका विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए भने बिहीबार काठमाडौंको पद्मकन्या माविबाट मेलास्थल आएका विद्यार्थी र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।
कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।
प्रकाशित समय ०७:४५ बजे


















