गृहपृष्ठ हराएको साढे चार लाख रुपैयाँ भेटिएपछि…

हराएको साढे चार लाख रुपैयाँ भेटिएपछि…

money-newskarobar

कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको चार लाख ५० हजार रुपैयाँ ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुसीको सीमा नै थिएन ।

आइतबार काठमाण्डौबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई सो रकमसहितको झोला उपलब्ध गराएको हो ।

शान्तिनगर चोकमा झरेका श्रेष्ठले झोला सडक छेउमा राखे । त्यही क्रममा उनले सडकमा राखेको झोला अर्का यात्रुले बोरेर हिडे । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाए । तत्काल उनले प्रहरीलाई फोन गरी झोला साटिएको जानकारी गराए । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्यो ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाण्डौतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै साढे चार लाख रुपैयाँ फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

‘झोला भेटिँदा निकै खुसी लाग्यो,’ प्रहरी सहायक निरीक्षक पाण्डेले भने, ‘प्रहरीलाई तत्काल खबर गरेकाले पैसा भेटाउन सम्भव भएको हो ।’ समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उनी बताउछन् । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी यो रकम बुझाउन जाँदै गरेको बताएका थिए ।(रासस)

प्रकाशित समय ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु