गृहपृष्ठ स्वास्थ्य बीमा : रुकुममा बढी कालिकोटमा कम

स्वास्थ्य बीमा : रुकुममा बढी कालिकोटमा कम

कर्णाली प्रदेशका ५ वटा जिल्लामध्ये रुकुम पश्चिममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

प्रदेशमा सबैभन्दा बढी रुकुम पश्चिममा सदस्य बनेको स्वास्थ्य बिमा बोर्ड कर्णालीले जनाएको हो । बोर्डका प्रदेश प्रमुख अर्जुन पण्डितले भने ‘हाल कर्णालीका पाँच जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ, मङ्सिरसम्मको तथ्यांक हेर्दा रुकुमपश्चिममा सबैभन्दा बढी सदस्य छन् ।’

रुकुमपश्चिमको एक लाख ५४ हजार दुई सय ७२ जनसंख्यामध्ये २६ हजार ७ सय ११ जनाले स्वास्थ्य बीमा गरेका छन् । यो जम्मा जनसंख्याको १८ प्रतिशत हो । त्यस्तै, कालिकोटमा सबैभन्दा कमले स्वास्थ्य बीमा गरेका छन् । सुर्खेतमा प्रतिशतका हिसाबले कम देखिएपनि संख्याका हिसाबले बढी छ । सुर्खेतमा ३ लाख ५० हजार ८ सय ४ जनसंख्यामध्ये २५ हजार ९ सय १७ बिमित छन् । सुर्खेतमा जम्मा जनसंख्याको ७ दशमलव ४ प्रतिशत बिमीत संख्या हुन्छ ।

कालीकोटको १ लाख ३६ हजार ९ सय ४८ जनसंख्यामध्ये २३ हजार ७ सय ३९ बिमीत छन् । त्यस्तै जाजरकोटमा १ लाख ७१ हजार ३ सय ४ मध्ये २४ हजार ५ सय ९३ जनाले स्वास्थ्य बीमा गरेको छन् । जुम्लामा १ लाख ८ हजार ९ सय २१ जनसंख्या मध्ये २५ हजार ४ सय ५ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

कर्णाली प्रदेशका अन्य पाँच जिल्लाहरुमा भने स्वास्थ्य बिमाको अभिमुखीकरण कार्यक्रम भइरहेको र छिटै स्वास्थ्य लागू गरिने प्रमुख पण्डितले जानकारी दिए । पछिल्लो समय कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको बोर्डको दावी छ ।

कर्णाली प्रदेश अस्पतालका मेसु डा. डम्बर खड्काले स्वास्थ्य बिमाका कारण अस्पतालमा भीड बढेको बताएका छन् । उनले भने ‘स्वास्थ्य बीमा गरेपछि मानिसहरु बिरामी नभएपनि पटक–पटक स्वास्थ्य जाँच गराउन अस्पताल आउने गरेका छन् ।’ मेसु खड्काका अनुसार दैनिक सय भन्दा बढी बिरामी स्वास्थ्य बीमा अन्तर्गतकै आउने गरेका छन् ।

कर्णालीमा २० स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा गर्नेहरुका लागि सेवा दिइरहेको छ । सुर्खेतमा ६ वटा, रुकुमपश्चिमा ४, दैलेखमा १, सल्यानमा १, कालिकोटमा २, जुम्लामा २ र जाजरकोटमा ४ स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दै आएका छन् ।

प्रकाशित समय ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु