गृहपृष्ठ वीरेन्द्रनगरमा जग्गा कित्ताकाट बन्द

वीरेन्द्रनगरमा जग्गा कित्ताकाट बन्द

वीरेन्द्रनगर नगरपालिकाले नगर उपत्यकाभित्र जग्गा कित्ताकाट र घरको नक्सापास बन्द गराएको छ । नगर कार्यपालिकाको बैठकले कित्ताकाट र घरको नक्सापास बन्द गरेको हो ।

मनपरी रुपमा गरिएको कित्ताकाटले कृषियोग्य भूमि खण्डीकरण हुँदै गएकाले सो निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए ।

उनले भने ‘नगरको गुरुयोजना नबन्दासम्म कित्ताकाट र नक्सापास रोक्ने निर्णय गरेका छौँ । वीरेन्द्रनगर नगरपालीका नगर गुरुयोजना निर्माणको प्रक्रियामा रहेकाले हाललाई लगत कट्टा भएका सडक क्षेत्रमा घर निर्माण प्रक्रिया बमोजिम खुल्ला गरिनेछ ।’

साविकको वडा नं १ देखि १२ सम्मका गुरुयोजना सडकसँग जोडिएका बाहेकका जग्गा र रत्नराजमार्गदेखि दक्षिणतर्फका वडा नं २, ३, ९, १० र ११ मा जग्गा कित्ताकाट तथा घरको नक्सापास रोक्का गर्ने निर्णय गरिएको छ ।

उनले थपे ‘भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गत पुसमा कृषियोग्य भुमि संरक्षण गर्न परिपत्र जारी गरेको थियो । कृषियोग्य भूमिको संरक्षण गर्न एक हप्ताअघि समितिसमेत गठन गरिएको छ । सो समितिले बुझाएको प्रतिवेदन अनुसार सो निर्णय गरिएको हो ।’

सुर्खेत उपत्यकालाई व्यवस्थित र सुविधायुक्त बनाउनका लागि पहल थालिएको सुवेदीको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाभित्र अव्यवस्थित कित्ताकाटका कारण शहर कुरुप बन्दै गएको छ ।

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु