गृहपृष्ठ छात्रवृत्ति विवाद : विद्यार्थीद्वारा महेन्द्र मोरङ क्याम्पस तोडफोड

छात्रवृत्ति विवाद : विद्यार्थीद्वारा महेन्द्र मोरङ क्याम्पस तोडफोड

todfod_newskarobar

विराटनगरको महेन्द्र मोरङ क्याम्पस विद्यार्थीहरुले तोडफोड गरेका छन् । नेविसंघ, समाजवादी विद्यार्थी फोरम लगायतका विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पसको व्यवस्थापन शैक्षिक शाखाको सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार तोडफोड गरेका हुन् ।

क्याम्पसले प्रदान गर्ने छात्रवृत्तिको अन्तर्वार्तामा अनेरास्ववियुका अध्यक्ष नविन पहाडी बसेको फोटो बाहिरिएपछि उनीहरुले छात्रवृत्तिमा अनेरास्ववियुले दादागिरी गरेको भन्दै सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा प्रवेश गरी टेबल, कुर्सीहरु तोडफोड गरेका थिए ।

पछि केही विद्यार्थीहरुले तोडफोड गरेको भिडियो तुरुन्त डिलिट गर्न भन्दै भिडियो खिच्ने विद्यार्थीमाथि नै खनिएका थिए । क्याम्पसले प्रदान गर्ने छात्रावृत्ति गोप्य रुपमा निष्पक्ष तरिकाले हुनुपर्नेमा अनेरास्ववियुले आफ्ना केही विद्यार्थीलाई छात्रवृत्ति दिलाउन अन्तरवार्ता कक्षमा बसेर दादागिरी देखाएको  समाजवादी विद्यार्थी फोरमका अध्यक्ष राकेश रोशन यादवले बताए ।

उनीहरुले गरेको विरोधका कारण  सोमबार हुनुपर्ने अन्तर्वार्ता समेत राकिएको थियो । यस अघि अन्तर्वार्ता भएका विद्यार्थीहरुको पनि निष्पक्ष तरिकाले पुनः अन्तर्वार्ता हुनुपर्ने उनीहरुको माग छ ।

यता अनेरास्ववियुका अध्यक्ष नविन पहाडीले भने अन्तर्वार्ता दिने विद्यार्थीहरु अन्तर्वार्ता दिनबाट बञ्चित भएपछि त्यसको पहलका लागि आफू अन्तर्वार्ता कक्षमा गएको बताएका छन् । उनले वञ्चित विद्यार्थीलाई अन्तर्वार्ता दिलाउन खोज्दा उल्टै विरोध भएको बताए ।

तोडफोडपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्तरुपमा प्रेस विज्ञप्ति निकालेर दोषीलाई कारबाहीको माग गरेको छन् ।

‘केही विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा विद्यार्थीहरुको छात्रावृत्ति रोक्ने अभिप्रायले नियमित भईरहेको अन्तर्वार्ता रोक्ने प्रयास गरी विद्यार्थी अराजक समूहले विद्यार्थीहरुलाई तितरवितर पार्ने गरी नकरात्मक हल्ला फैलाई ब्यबस्थापन संकाय तोडफोड प्रति ध्यानाकर्षण भएको छ,’ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

अनेरास्ववियु जिल्ला सदस्य निर्मल भण्डारीले भने निष्पक्ष रुपले हुनुपर्ने छात्रवृत्तिको अन्तरवार्तामा विद्यार्थी संगठनको जिम्मेवार ब्यक्ति बस्नुले गलत सन्देश जाने र नेविसंघले पनि बार्ताबाट समाधान गर्नुपर्ने विषयमा तोडफोड गर्नु निन्दनीय भएको बताए ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु