गृहपृष्ठ सुर्खेतमा कर्णालीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

सुर्खेतमा कर्णालीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री रनिङ शिल्ड सञ्चालन हुने भएको छ । जसअन्तरगत सुर्खेतमा प्रदेशस्तरिय भलिबल प्रतियोगिताको आयोजना गरिँदै छ ।

यही फागुन १ देखि ४ गते सम्म हुने प्रतियोगितामा प्रदेशभरका महिला तथा पुरुष खेलाडी गरी २ सय ३० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । सामाजिक विकास मन्त्रालयको आयोनामा हुने कार्यक्रमका लागि सरकारले खेलकुदमा विनीयोजन गरेको ५० लाख रुपैयाँ खर्च हुने मन्त्रालयका सचिव तथा खेलकुद व्यवस्थापन समिति संयोजक डा. मानबहादुर बिकेले जानकारी दिए ।

‘मुख्यमन्त्री रनिङ शिल्ड सुर्खेतमा सञ्चालन हुँदैछ । यसमा हामीले प्रदेशस्तरीय भलीबल प्रतियोगीता गराउँदैछौं,’ उनले भने, ‘सरकारले खेलकुदमा विनियोजन गरेको रकम ५० लाख नै यसका लागि खर्च गरिने छ ।’ अन्य खेलको सम्भावना कर्णालीमा अली कम भएकोले भलिबल प्रतियोगिता नै आयोजना गरिन लागेको बिकेले जानकारी दिए ।

प्रतियोगीतामा कर्णालीका १० वटै जिल्लाबाट प्रत्येक जिल्लाका १० जना महिला र १० जना पुरुष खेलाडी आउनेछन् । त्यस्तै प्रत्येक जिल्लाबाट एकजना महिला प्रशिक्षक र एकजना पुरुष प्रशिक्षक अनिवार्य आउने र एकजना टिम मेनेजर आउनेछन् ।

यसरी प्रत्येक जिल्लाबाट २३ जना खेलाडी प्रतियोगीतामा सहभागी हुनेछन् । प्रतियोगीतामा प्रथम हुनेलाई रनिङ शिल्ड तथा महिला  र पुरुषतर्फ एकएकलाख रुपैयाँ, द्वीतिय हुनेटिमलाई कप र पच्चहत्तर पच्चहत्तर हजार रुपैयाँ र तृतिय हुनेलाई कप र पचास पचास हजार रुपैयाँ दिइने खेलकुद व्यवस्थापन समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष चन्द्रकुमार गीरीले बताए ।

साथै प्रतियोगीतामा उत्कृष्ट महिला तथा पुरुष खेलाडि समेत चुनिने छ । जसलाई कप र नगद पाँच पाँच हजार रुपैयाँ प्रदान गरिने गिरीले जानकारी दिए । मुख्यमन्त्री रनिङ शिल्ड कर्णाली प्रदेशमा प्रत्येक वर्ष सञ्चालन हुने जानकारी समेत मन्त्रालयले दिएको छ ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु