गृहपृष्ठ भैरहवास्थित बाल सुधारगृहबाट कसरी भागे ६ जना ?
भैरहवास्थित बाल सुधारगृहबाट कसरी भागे ६ जना ?
रूपन्देहीको भैरहवास्थित बाल सुधारगृह (बाल कारागार) बाट ६ जना कैदी बन्दी फरार भएपछि कारागारको सुरक्षामा गम्भीर संका उत्पन्न भएको छ ।
गएराती (सोमबार राति) करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर उनीहरु फरार भएका हुन् । फरार हुनेमा चारजना चोरी मुद्दाका र दुई जबरजस्ती करणीका कैदी बन्दी रहेको बाल सुधारगृह रुपन्देहीले जनाएको छ ।
गृहकी प्रमुख सुभद्रा गौतमका अनुसार चोरी मुद्धा र जर्वजस्ती करणी मुद्धाका ६ जना अभियुक्तहरु भागेका हुन् । उनले आफू सुत्ने कोठाको झ्याल फोडेर भान्सा कोठा हुँदै तारे जालीले घेरिएको गेट र शुरक्षामा रहेका प्रहरीको आँखा छिचोलेर फरार भएको बताइन ।
उनका अनुसार १८ वर्ष मुनीका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । यस गृहमा बिभिन्न मुद्धाका ७२ जना कैदी बन्दी रहेका छन् ।
गृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती छन् ।
भाग्नेमा चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् ।
त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधारगृह रुपन्देहीले जनाएको छ ।
सुधारगृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । त्यहीक्रममा उनीहरुले योजना बनाएर फरार भएको बाल सुधारगृह रुपन्देहीकी प्रमुख गौतमले बताइन । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी कार्य त्रिब पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए ।
उनले विश्वासै गर्न नमिल्ने गरी बालक फरार भएको बताए । बालगृहमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा १० जना शुरक्षाकर्मीको टिम तैनाथ हुने गरेको छ ।
प्रकाशित समय १६:४९ बजे

















