गृहपृष्ठ अवैध लागू औषधसहित पक्राउ
अवैध लागू औषधसहित पक्राउ
मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरस्थित कैलाश गाउँपालिका-१ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
कैलाश गाउँपालिका-१ कै बोल्नेखर्कका मेवा भन्ने चन्द्रबहादुर घलान र धादिङ गजुरी गाउँपालिका-८ किरान्चोकका ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङलाई २ सय ७३ किलो चरेस र १ सय ९० किलो गाँजाको धुलोसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा चन्द्रबहादुरको घरमा तलासी गर्ने क्रममा उक्त परिणाममा चरेश बरामद गरिएको हो । त्यस्तै उनकै घरसँगै रहेको गोठभित्र घाँसपातले छोपिएको अवस्थामा ५ वटा बोरामा चरेश बनाउनको लागि तयार पारिएको १ सय ९० किलो गाँजाको धुलो फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मकवानपुर थाहा नगरपालिका-७ घर भएका २२ वर्षीय राज तामाङलाई करिब ३ केजी चरेससहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख २९४७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै धादिङस्थित गल्छी गाउँपालिका-६ बैरेनी बजारस्थित पाण्डे होटल तथा मासु पसलका सञ्चालक बिन्दा पाण्डेलाई करिब ३१ केजी गाँजासहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बैरेनी प्रहरी चौकीबाट खटिएको प्रहरीले पाण्डेको होटलमा तलासी गर्दा उक्त गाँजा लुकाईछिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १७:४५ बजे

















