गृहपृष्ठ हेलिकप्टर दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली दिन टुँडिखेलमा भीड, आजै अन्त्येष्टि गरिने

हेलिकप्टर दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली दिन टुँडिखेलमा भीड, आजै अन्त्येष्टि गरिने

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । बिहान ८ बजे देखि सुरु भएको श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने बताइएको छ ।

निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको हो ।

मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन् । श्रद्धाञ्जलीपछि अन्तिम संस्कारका लागि मृतकका आफन्तहरुलाई शव जिम्मा लगाइने छ । मन्त्री अधिकारीको शव उनका बुबाआमाको इच्छाअनुसार गृह जिल्ला लगिनेछ ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेका मन्त्री अधिकारीसहितको हेलिकप्टर पाथीभाराबाट काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो । हिजो अबेरसम्म त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम नसकिएपछि श्रद्धाञ्जलीको कार्यक्रम आजका लागि सरेको थियो ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु