गृहपृष्ठ २० हजार नहुँदा अस्पतालले दिएन शिशुको शव, अभिभावक अस्पतालमै बन्धक
२० हजार नहुँदा अस्पतालले दिएन शिशुको शव, अभिभावक अस्पतालमै बन्धक
उपचार गरिसकेपछि पैसा छैन भन्दा हामीलाई अप्ठेरो पर्छ : अस्पताल
विराटनगरको म्याक्स इन्टरनेसनल अस्पतालले उपचारमा लागेको खर्च तिर्न नसकेपछि शिशुको शवसहित अभिभावकलाई बाहिर जान दिएको छैन । बच्चाको उपचारमा लागेको खर्च तिर्न नसकेपछि उनीहरू अस्पतालमै बन्धक बन्न बाध्य भएका छन् ।
सुनसरी बराह नगरपालिका- ९ प्रकाशपुरबाट चार दिनको शिशुको उपचारका लागि आएका सूर्जा चन्द्रवंशी उनकी श्रीमती वुद्धि चन्द्रवंशीलाई अस्पताल प्रशासनले बाहिर जान दिएको छैन । उपचारमा लागेको रकम तिर्न नसकेपछि अस्पताल प्रशासनले उनीहरूलाई अस्पतालमै रोकेर राखेको हो ।
सोमबार उपचारका लागि भर्ना भएका शिशुको बिहीबार बिहान मृत्यु भएको थियो । शिशुको उपचार गर्दा ७३ हजार रुपैयाको बिल उठेको थियो । उपचारमा लागेको खर्च तिर्न नसक्दा सूर्जा र वुद्धिलाई घर जान नदिई बन्धक बनाएर राखेको हो ।
सोमबार इनरुवा अस्पतालमा जन्मिएको बच्चाको टाउकोमा समस्या देखिएपछि उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा चार दिन उपचार गर्दा ७३ हजार ९ सय ५० रुपैयाँ बिल तिर्न बाँकी छ ।
चन्द्रवंशी परिवारले ४५ हजार रुपैयाँ अस्पताललाई बुझाईसकेका छन् । थप २८ हजार तिर्न नसक्दा चन्द्रवंशीलाई रोकेर राखेको हो । शिशुको स्वास्थ्यमा समस्या देखिएपछि सूर्जाले गाउँकै भीष्म कार्कीबाट चर्को ब्याजमा ५० हजार रुपैयाँ लिएर अस्पताल आएका थिए ।
‘अस्पतालाई ४५ हजार र औषधि पसललाई ५ हजार तिरेँ,’ सूर्जाले भने ‘पैसा सकियो ।’ अस्पताल प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि जान नदिएको उनले गुनासो गरे ।
शोकमाथि ऋणको बोझ
५० हजार रुपैया लिएर छोरोको उपचारका लागि आएका सूर्जालाई २८ हजार रुपैयाँ तिर्न नसकेका कारण अस्पतालले घर जान दिएको छैन । उनी अस्पताललाई तिर्नुपर्ने रकम जोहो गर्न सक्ने अवस्थामा पनि छैनन् ।
१९ बर्षका सूर्जाले आफू भन्दा कान्छी वुद्धिसँग प्रेम विवाह गरेका थिए । सोमबार इनरुवा अस्पतालमा नर्मल डेलिभरीबाट छोरो जन्मिएपछि अस्पतालले बच्चाको स्वास्थ्यमा समस्या भएकाले थप उपचारका लागि नोबेल मेडिकल कलेज जान सुझाव दिएको थियो ।
नोबेलमा बेड खाली नभएपछि म्याक्समा भर्ना गरेका थिए । छिमेकीसँग चर्को ब्याजमा ल्याएको ऋण सबै बुझाएका उनलाई थप शुल्क तिर्न नसक्दा अस्पतालले जान नदिएको हो । उपचारका लागि ऋणको बोझ बोकेका चन्द्रबंशी छोराको मृत्युपछि ऋणको बोकिरहेका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शत्रुघन यादव पैसा नतिरे शव लैजान नदिने बताँउछन् । उपचारका लागि आएका सबै ठिक हुन भनेर अस्पतालले ग्यारेन्टी लिन नसक्ने बताउदै उनले पूरा पैसा नतिरेसम्म जान नमिल्ने बताए ।
‘उपचारका लागि आउने, सबैथोक गर्ने, पैसा तिर्छु भन्ने अनि गाह्रो पर्दा पैसा छैन भन्दा हामीलाई अप्ठ्यारो हुन्छ’ उनले भने ‘उपचारका लागि आएका सबैले मागे जति पैसा तिर्न चाहदैनन् ।’ आमाको स्वास्थ्य परीक्षण अस्पतालले निःशुल्क गरेको बताइएको छ ।
अस्पतालले सकेको छुट दिने बताउँदै म्यानेजिङ डाइरेक्टर हेमनारायण मेहताले बन्धक नबनाएको दाबी गरे । उनले बिहानसम्म पनि २५ हजारमा ५ हजार छुट गरिदिने त्यो नहुँदा २० हजार तिरेर बच्चाको शव लैजान भनिएको तर उनीहरु अस्पतालबाट बाहिर निस्किएको दाबी गरे ।
साँझ आएर अस्पतालबाट बच्चा लग्ने भने पनि बच्चा साटिएको भन्दै नलगेको उनको भनाई छ ।
प्रकाशित समय १३:१३ बजे

















