गृहपृष्ठ प्रदेश-१ प्रहरी केन्द्रबाट १३५ प्रहरी जवान दीक्षित
प्रदेश-१ प्रहरी केन्द्रबाट १३५ प्रहरी जवान दीक्षित
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभूत तालिम १३६ औं समूहको शुक्रबार दीक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरिक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम १३६ औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
२०७५ जेष्ठ २६ देखि फाल्गुन १६ गते सम्म सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थी प्रहरीले कवाज प्रदर्शन गरेका थिए ।
कार्यक्रममा तालिम अवधी भर लिइएको चरणगत परीक्षाको प्राप्तांका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे ।
कार्यक्रममा रिजालले करिब १० महिना अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमूल्य नीधि भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जीवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गरे ।
उनले कार्यक्षेत्रमा खटिँदा व्यवसायिक जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता वहन गर्दै असल प्रहरी बनेर जनताको मन जित्ने कार्यहरु गर्न निर्देशन समेत दिए । दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सपथ ग्रहण गराएका थिए ।
प्रकाशित समय २०:१० बजे

















