गृहपृष्ठ कमल थापाको टिप्पणी- मुलुक हाँक्ने ड्राइभर ठीक, बाटो गलत

कमल थापाको टिप्पणी- मुलुक हाँक्ने ड्राइभर ठीक, बाटो गलत

kamal_thapa_in_biratnagar

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाईको सरकारले जनभावना अनुरुप काम गर्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले भ्रष्टाचार तथा मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कारबाही गर्न नसकेको बताए ।

उनले एनसेलको करछली तथा वाइड वडी विमान खरिदको भ्रष्टाचार विषयलाई सरकारले सत्यतथ्य पत्ता लगाएर कारबाही प्रक्रिया अघि वढाए पार्टीको साथ र समर्थन रहने बताए । साथै उनले देश टुक्र्याउन खोज्ने र भ्रष्टाचारीलाई कारबाही गर्न सरकार अघि बढे त्यसमा राप्रपाको पूर्ण सहयोग रहने उल्लेख गरे ।

उनले प्रधाममन्त्री केपी शर्मा ओली देश हाँक्ने कुशल ड्राइभर भएको तर, गाडीले गलत बाटो लिन खोजेकाले त्यसतर्फ गम्भीर हुनु आवश्यक रहेको बताए । ड्राइभर सही भए पनि बाटो गलत भएमा गन्तव्यमा पुग्न नसकिने उनको भनाई थियो ।

अध्यक्ष थापाले, देश बचाउन देश बनाउन र देशलाई नयाँ ढंगबाट अघि बढाउन आफ्नो पार्टीले मेची महाकाली राष्ट्रिय अभियान सुरु गरेको जिकिर गरे । उनले धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र स्थापना नभएसम्म आफ्नो पार्टीले जनदबाव सिर्जना गरिरहने बताए ।

राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन तथा संघीयताका लागि जनमत संग्रह गर्नुपर्ने उनको भनाइ थियो । तीनदिन अघि ताप्लेजुङबाट सुरु भएको स्वाभिमान यात्रा पाँचथर, इलाम तथा झापा हुँदै विराटनगर आइपुगेको हो । फागुन ३० गते काठमाडौं पुगेर यात्रा सम्पन्न हुने राप्रपाले जनाएको छ ।

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु