गृहपृष्ठ हुम्लामा चार दिनपछि हवाई सेवा सुरु

हुम्लामा चार दिनपछि हवाई सेवा सुरु

हिमाली जिल्ला हुल्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मंगलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।

शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि शनिबारदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले शनिबार नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । शनिबार निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताए ।

जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु