गृहपृष्ठ आलुको मूल्य नपाएपछि किसान चिन्तित
आलुको मूल्य नपाएपछि किसान चिन्तित
बनेपा-काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् ।
यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउँछन् । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उनको भनाइ छ । उनले भने, ‘आलुखेतीबाट खासै फाइदा भएन, गरेको लगानी धानखेतीबाट उठाउने गरेको छु ।’
खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउँछिन् । ‘खेती नै यही हो, मूल्य नपाउँदा मारमा परेका छाैं,’ उनले भनिन् ।
किसानले आलु प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्री गर्ने गरेको छन् । बजारमा त्यही आलु प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रूपमा भइरहेको बताए । उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उनको भनाइ छ ।
‘उन्नत बीउ वितरण र बजारीकरणको व्यवस्थापन गर्नु पर्छ,’ उनले भने । किसानलाई समूहमा संगठित गरी बजारीकरणको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । सुपरजोन (आलु) कार्यालयका सूचना अधिकृत कृष्ण धितालका अनुसार जिल्लामा नौ हजार हेक्टरमा वार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । सुपरजोन (आलु) परियोजनाले हालसम्ममा दुई हजार हेक्टरमा मात्रै सेवा विस्तार गरेको छ । भविष्यमा तीन हजार ६०० हेक्टरसम्म सेवा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
प्रकाशित समय ११:२० बजे

















