गृहपृष्ठ इन्दुशंकर चिनी उद्योग सञ्चालन सुरु

इन्दुशंकर चिनी उद्योग सञ्चालन सुरु

sugar-chini-newskarobar

हरिवन नगरपालिका–११ मा रहेको इन्दुशंकर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम सुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मंसिर २६ गते डोङजा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए ।

उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको उद्योगले दशैँअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो । जिल्लामा तीन चिनी उद्योग रहे पनि इन्दुशंकर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले जनाए ।

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । यी दुवै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौँमा आन्दोलन गरिरहेका छन् । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन\चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ ।

दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नातर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको जिकिर गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य ५४४ रूपैयाँ दिन सिफारिस गरिसकेको छ । यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल ६१७ रूपैयाँ कायम हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु