गृहपृष्ठ पानीघट्टले धानिएको धारापानीबासीको जिन्दगी

पानीघट्टले धानिएको धारापानीबासीको जिन्दगी


राजेन्द्र पनेरु । कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्रको धारापानी गाउँमा बस्दै आएका परिवारको गुजारा पानीघट्टले चल्दै आएको छ । आर्थिक रूपमा विपन्न परिवारले पानीघट्ट संचालन गरी परिवारका लागि साँझ बिहानको खाना जुटाउँदै आएका छन् । विद्युत नहँुदा यहाँका बासिन्दाले सञ्चालनमा ल्याएका दुई पानीघट्टबाट अन्न पिसानीको कार्य गर्दै आएका छन् ।
अन्न पिसानी गर्दा केही हिस्सा घट्ट सञ्चालन गर्दै आएका परिवारलाई दिने गरेका छन्, जसबाट घट्ट संचालन गर्ने परिवारको साँझ बिहानको खाना जुट्ने गर्छ । पचास वर्षीय स्थानीय साइमले धामीको परिवारले घट्ट सञ्चालन गरेरै ११ जनाको परिवार धान्दै आएको छ । घट्टमा पिसानीका लागि आउनेहरूले दिने पिठोेले चार महिना गुजारा चल्ने गरेको छ उनको परिवारको । धामीले भने, ‘बाँकी खानाका लागि पाखो जमिनमा लगाएको अन्नले धानिँदै आएको छ ।’
चार वर्षअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको धामी परिवार आश्रयको खोजीमा यस ठाउँमा बस्नपुगेको हो । ‘खाने गुजाराका लागि घट्ट सञ्चालन गरेपछि जिन्दगी चल्दै आएको छ,’ उनले भने । चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षातको उर्लिंदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनाश हुनथालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ ।
उनी भन्छन्, ‘पहाडमा रहेको सबै खेतबारी पहिरोमा पर्यो, अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने भन्ने पिरलो छ ।’ उनी जस्तै वि.सं. २०४० देखि पानीघट्ट सञ्चालन गर्दै आएका जयलाल धामीको परिवारसमेत यसमै निर्भर छ । धारापानी खोलाबाट ल्याइएको कुलोमा थोरै पानी हुँदा घट्ट विस्तारै घुम्ने भएकाले एक दिनमा पन्ध्र किलो मात्र अन्न पिसानी हुने गर्छ । चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा बागमारेका बासिन्दा पालैपालो पिसानीका लागि घट्टमा पुग्ने गरेका छन् ।
घट्टमा पिसानी गरेवापत घट्ट मालिकलाई आधादेखि एक किलोसम्म पिसानी गरिएको पिठो बुझाउने गरेका छन् । यसबाट घट्ट संचालन गर्ने परिवारको खाना जुट्ने गरेको छ । घट्टबाट खाना र बाख्रा पालेर लुगाफाटो जुट्ने गरेको जयलालले बताए । खेती हुँदै आएको थोरै पाखो जग्गामा अन्न उत्पादनसमेत निकै थोरै हुने गरेको छ । चारैतिर घना जंगल र पहाडले घेरिएको ठाउँ धारापानीमा १४ परिवारको बसोवास छ । विद्यालय र स्वास्थ्य चौकीको सेवा लिन पैदल नै २० किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।
वर्षातमा नदीमा पानीको बहाव बढ्दा सेवा लिनबाट समेत यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । पिउने पानीका लागि खोलाकै पानी यहाँका बासिन्दाले प्रयोगमा ल्याउने गरेका छन् । वि.सं. २०२९ देखि धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाड्ने क्रम बढ्दै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ यहाँका मानिसलाई । २० किलोमिटरको यात्रा जंगलै जंगल भएर बालबालिका बस्तीभन्दा टाढा रहेको विद्यालय पुग्ने गरेका छन् । ससाना बालबालिका भने विद्यालय जानबाट बञ्चित छन् ।
सात वर्षमाथि उमेर पुगेपछि मात्रै स्थानीय बासिन्दाले बालबालिकालाई विद्यालय पठाउने गरेका छन् । वर्षातका बेला खोलामा आउने बाढीले गर्दा बालबालिका विद्यालय जानबाट बञ्चित हुने गरेका हुन् । चारैतर्फ जंगल र खोलाले घेरिएको बस्ती सुविधाविहीन रहेकाले बस्ती नै स्थानान्तरण गरिनुपर्ने वडा अध्यक्ष बहादुरसिंह महराले बताए । बस्तीका कारण चुरे विनाश त बढेको छ । उनले भने, ‘कुनै पनि सुविधा पुर्याउन थोरै स्रोतले सम्भव नभएकाले बस्ती नै अन्यत्र सारिनुपर्छ । यसका लागि योजना बनाउन जुटेका छौँ,’ उनले भने ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु