गृहपृष्ठ इन्डक्सन चुलो बेच्न नेशसन ट्रेडिङमा दुई कर्मचारी

इन्डक्सन चुलो बेच्न नेशसन ट्रेडिङमा दुई कर्मचारी

काठमाडौं ।

सरकारले खारेज गरिसकेको नेशसन ट्रेडिङमा भारतीय नाकबन्दीको समयमा चिन सरकारले अनुदानमा दिएको इन्डक्सन चुलो बेच्नका लागि दुई कर्मचारी खटाएको छ । सिंहदरबार पश्चिम गेटस्थित ट्रेडिङको गेटैमा बसेर दुई कर्मचारीले इन्डक्सन चुलो विक्रि गरिरहेका छन् ।

सिंहदरबारको मुल गेट अगाडि नै राखिएको विक्रिकक्षमा सुनसान नै हुने गरेको छ । विक्री गर्न राखिएका चुलो किन्न त परै जाओस् कसैले फर्केर सेमत हेर्दैनन् । ४ हजार मूल्य राखिएको चुलोका लागि रकम बुझाएपछि एउटा कराई समेत निःशूल्क दिने अफर गरिएको हो ।

त्यहाँ खटाइएका दुई कर्मचारी हरेक दिन आउँछन्, हाजिर गर्छन र साँझ फर्किन्छन । फाट्फुट्ट कोही आइहाले चुलोको बारे सक्दो बुझाउँछन्, प्रायले ‘राम्रै रैछ त’ भन्ने प्रतिक्रिया दिन्छन् र रित्तै फर्किन्छन् ।

करिब तीन वर्षअघि चीनले अनुदानमा उपलब्ध गराएको इण्डक्सन चुलोको विक्री नगन्य रहेको छ । तीन वर्षको अवधिमा सरकारले एक तिहाई चुलो समेत बेच्न सकेको छैन् । २०७२ मा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि चीनले ११ हजार ३ सय चुलो अनुदान दिएको थियो । तर हालसम्म ३ हजार चुलो मात्र विक्री भएको छ ।

‘चुलोका बारेमा कहिलेकाहीँ एकाधले जिज्ञासा राख्छन । सोध्नेजतीले राम्रै रहेछ नै भन्छन् तर किन्न भने कसैले खोज्दैन्न’, विक्री कक्षका कर्मचारीले भने । कर्मचारीका अनुसार हप्तामा बढीमा ६ वटासम्म चुलो मात्र विक्री हुने गरेको छ ।

चुलो बेच्नैका लागि यी दुई कर्मचारीलाई करारमा नियुक्त गरिएको छ । तर इन्डक्सन चुलो बेच्नैका लागि करारमा कर्मचारी खटाएर राख्नुपर्ने अवस्था आउँदा समेत चुलो भने विक्री हुन सकेको छैन् । यसको प्रमूख कारण सही बस्तु गलत समयमा बेच्न बस्नु रहेको नेसनल ट्रेडिङकी विक्री वितरण विभाग प्रमूख गिता निरौला बताउँछिन् ।

उनले पहिलो चरणमा १३ सय ल्याइएको चुलो सहजरुपमा विक्री भएपनि दोश्रो चरणमा आएको १० हजार चुलो लामो समयसम्म भन्सारको गोदाममा थन्किन पुग्दा अहिले आएर समस्या भएको बताइन् ।

‘नाकाबन्दीको समयमा ग्यास अभाव थियो, हामीले चीनले दिएको १३ सय चुलो बच्यौँ, खोसाखोस गरेर किनेर लैजान्थे’ निरौलाले भनिन्, ‘त्यसपछि थप १० हजार चुलो आयो । तर त्यो उच्च माग भएको समयमै हाम्रो हात पर्न सकेन । त्यसैले यो अवस्था आएको हो ।’

चीनले नेपाललाई दिने आर्थिक सहायताबाट कटौती हुने गरी ८ करोड ५० लाख मूल्य बराबरको इन्डक्सन चुलो प्रदान ग¥यो । केरुङ नाकाहुँदै पहिलो चरणमा १३ सय चुलो आयात भयो । चुलो विक्रीको जिम्मा नेश्नल ट्रडिङलाई दिइएको थियो ।

पछि कटौती हुने भएकाले त्यसको पूर्ति हुने गर्ने गरी सरकारले चुलोको मूल्य ११ हजार ९ सय ९५ निर्धारण गर्यो । नाकाबन्दीका कारण ग्यास अभाव भएको त्यस अवस्थामा चुलोको माग उच्च थियो ।

त्यसको केहि समयभित्रै हवाई मार्गहुँदै थप १० हजार चुलो भित्रियो । यसरी ल्याइएको चुलोमा भन्सार विभागले भन्सारबापतको शूल्क दाबी गरेको थियो । तर नेश्नल टे«डिङले भन्सार शूल्क तिर्न नसक्ने बताएपछि चुलो पारबहन गोदाममा थन्किएको थियो ।

अन्तत विभागको भन्सार बापतको रकम र गोदाम व्यवस्थापन समितिले अबिलम्ब बापतको शूल्क मिनाहा गरिदिएपछि आएको करिब एक वर्षपछि बल्ल नेशनल ट्रडिङले चुलोको विक्री गर्न थालेको थियो ।

बजारमा भन्दा तीन गुणा बढी पर्ने गरी १२ हजार पुरानै मूल्य कायम भएपछि भने चुलो विक्री भएन् । त्यसको केहि महिनासम्ममा पनि चुलो विक्री नभएपछि सरकारले अघिल्लो वर्ष मूल्य घटाएर ४ हजार कायम गरेको थियो ।

मूल्य घटेका एक महिनासम्म राम्रो भइरहेको चुलोको विक्री त्यसपछि भने ओरालो लाग्दै गएर अहिले भने नगन्य अवस्थामा पुगेको हो । खपतको हिसाबले ग्यासभन्दा निकै सस्तो भएपनि आम मानिसको प्राथमिक्तामा विद्युतिय चुलो नपरेकाले सहजरुपमा विक्री हुन नसकेको निरौलाको भनाई छ ।

नेसनल ट्रेडिङले आफ्ना सबै २ सय ८४ जना कर्मचारीलाई उपदान दिएर विदाई गरिसकेको छ । बढ्दै गएको ऋण तिर्न तथा कर्मचारीलाई अवकाश दिनलाई ट्रेडिङले टेकुमा रहेको ५० रोपनी जग्गा बेच्नुपरेको थियो ।

सम्पूर्ण कर्मचारीको विदाईसँगै कामविहिन अवस्थामा पुगेको ट्रेडिङलाई सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघमा खारेज गर्ने निर्णय गरेको हो ।

तर बेच्न बांकी रहेको इन्डक्सन चुलो तथा देशभर रहेको जग्गा र भवनको व्यवस्थापन गर्नकै निम्ति सरकारले व्यवस्थापकसहितका कर्मचारीलाई करारमा खटाइरहेको छ । ट्रेडिङको देशभरको जग्गा, भवन, गोदाम सबै जोड्ने हो भने करिब २५ अर्ब बराबरको सम्पत्ती छ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु