गृहपृष्ठ गोंगबु घटना : फेसबुकबाट चिनजान, चार वर्ष ‘निकटता’, असमझदारीपछि हत्या !

गोंगबु घटना : फेसबुकबाट चिनजान, चार वर्ष ‘निकटता’, असमझदारीपछि हत्या !

शव व्यवस्थापन गर्न छोरीको सहयोग

चितवनबाट पक्राउ परेकी ‘गोंगबु हत्या’का आरोपी महिलालाई प्रहरीले मंगलबार बिहान काठमाडौंमा सार्वजनिक गरेको छ । आरोपी कल्पना शाहीले प्रारम्भिक बयानको क्रममा नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको आफूले हत्या गरेको बताएकी छन् ।

बेहोस बनाएपछि घाँटी थिचेर बोहोराको हत्या गरेको ती महिलाले बयान दिएको प्रहरीले बताएको छ  । ‘कोठामै हत्या गरेपछि बाथरुममा लगेको रहेछ । बाथरूमभित्र खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा प्याक गरी फालेको भन्ने प्रारम्भिक बयान छ,’ प्रहरीको भनाइ छ । शव व्यवस्थापन गर्न भने छोरीले सहयोग गरेको उनले बताएकी छन् ।

प्रहरीले घटनास्थलबाट ह्यामर र दाउ पनि बरामद गरेकाे छ । घटनापछि ती महिला एम्बुलेन्स चढेर चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट सोमबार बेलुकी पक्राउ गरेको थियाे ।

मृतक बोहोरा र हत्या आरोपी शाहीबीच फेसबुकमार्फत तीन-चार वर्षअघि चिनजान भएको खुलेको छ । त्यसपछि उनीहरूबीच निकटता बढेकाे थियो । फेसबुकको चिनजानपछि उनीहरू नियमित सम्पर्कमा रहेको र आपसी असमझदारीपछि हत्यासम्मको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तलामा शनिबार राति हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा सुटकेसभित्र हालेर फालिएको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । प्रहरीले कुकुरको सहायताले त्यसभन्दा करिब २ सय मिटर पर टाउको र गोडा फेला पारेको थियो ।

टोखा नगरपालिका- १० स्थित गोंगबु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहोराको मामाले शवको सनाखत गरेपछि मात्र प्रहरीले घटना भएकाे घर पत्ता लगाएको थियो । मृतक बाेहाेरा काठमाडाैंकै एक गार्मेन्टमा काम गर्थे ।

प्रकाशित समय १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु