गृहपृष्ठ दुलहीझैं सिँगारिए जनकपुरका शक्तिपीठ (फोटो फिचरसहित)

दुलहीझैं सिँगारिए जनकपुरका शक्तिपीठ (फोटो फिचरसहित)

बडादसैँको अवसरमा जनकपुरस्थित दर्जनौं शक्तिपीठहरुलाई दुलहीझैं सजाइएको छ । स्थानीय युवा क्लबहरुले लाखौं खर्च मन्दिर सजावट गरेका छन् ।

जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, बौद्धिमाई, मुरलिचोकस्थित दुर्गा मन्दिर, पिडरियामाई स्थान, राममन्दिर, जानकी मन्दिर, जिरोमाइलस्थित दुर्गामन्दिर, रामानन्दचोकस्थित दुर्गामन्दिर, देवीचोकस्थित राजदेवी मन्दिर, रजौलको दुर्गामन्दिरलगायत दर्जनौं शक्तिपीठहरु सजावट गरेको स्थानीयले बताएका छन् ।

यसैबीच, राजा जनकको कुलदेवीसमेत रहेकी माता राजदेवीलाई भव्य रुपमा सजाइएको छ । मन्दिरमा हाल महिलाहरुलाई प्रवेश निषेध गरिएको छ । दर्शनका निम्ति दसैँको १० दिन पुरुष श्रद्धालुहरु मन्दिरको भित्रीद्वारसम्म जान पाउने भए पनि महिलाहरुलाई भने बाहिरी गेटसम्म मात्रै प्रवेशको अनुमति दिएको छ ।

महिला श्रद्धालुहरुलाई १० दिनसम्म झ्यालबाटै पूजा आराधना गर्ने व्यवस्था मिलाइन्छ । अन्य दिनहरुमा पूजा गर्न पुग्ने महिला वा पुरुष श्रद्धालु जो कोहीलाई राजदेवीको मन्दिरभित्र प्रवेश गर्न दिइए पनि दसैँको घटस्थापनादेखि विजया दशमीसम्म महिला श्रद्धालुलाई झ्यालबाटै पूजा गर्ने व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

आफूहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरी बताउँछन् । ‘वषौंदेखि चल्दै आएको परम्परालाई हामीले तोड्न मिल्दैन,’ उनले भने । महिलाहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठूलो नमूना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाइ छ ।

नेपालको कानुनमै महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव गरिने छैन भनेर उल्लेख गरिए पनि जातीयता र लिंंगको आधारमा गरिएको विभेदले आफूलाई क्षुब्ध बनाएको अधिवक्ता रेखा झा बताउँछन् । राजदेवी मन्दिरमा प्रत्येक वर्ष दसैँभर महिलालाई निषेध गरिन्छ । यसको विरुद्ध अधिवक्ता झालगायतका महिला अधिकारकर्मीहरुले पटक–पटक आवाज उठाउँदै आइरहेका छन् ।

दसैँको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुल्ला बहसकै आवश्यकता रहेको अधिवक्ता झा बताउँछन् । उनले भनिन्, ‘हामी यसको लागि बहस आह्वान गरेका थियौँ, त्यहाँ राम मन्दिरका महन्थराम गिरी, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, दसैँको बेला राजदेवी मन्दिरलाई प्रत्येक वर्ष सजाउने जिम्मा लिँदै आएको महावीर युवा कमिटीका तत्कालिन अध्यक्ष धमेन्द्र साहलगायतका आमन्त्रित गरेका थियौँ । तर, त्यस बहसमा भने कसैले उपस्थिति जनाएनन् । यसले नै हामी लैंगिक समानताका लागि कतिको प्रतिवद्ध छौँ भन्ने स्पष्ट गरेको छ ।’

राजदेवी मन्दिरका महन्थ गिरीले यदि यहाँका जनताले चाहे भने यो परम्परालाई तोड्न आफूहरुलाई कुनै आपत्ति नरहेको बताए । समाजमा रहेका यस्ता लैंगिक समानताविरुद्धको कुप्रथालाई हटाउनुपर्ने महिला अधिकारकर्मीहरु बताउँछन् । जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष अत्याधिक भिड लाग्ने गर्छ । यहाँ अष्टमीको राति हजारौंको संख्यामा बली प्रदान हुने गरेको छ । तर, यस पटक भने स्थानीय प्रशासनले बली प्रदानमा रोक लगाएको छ ।

प्रकाशित समय १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु