गृहपृष्ठ अनसनमै बिते डा. केसीका १९० दिन
अनसनमै बिते डा. केसीका १९० दिन
पन्ध्रौं अनसन : रेकर्ड तोडियो तर माग पूरा भएन

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै २०६९ साल असार २१ गते अनसन सुरु गरेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले अनसनमै एक सय ९० दिन बिताएका छन् । चिकित्सा शिक्षा सुधारको प्रयासमा पटक–पटक गरी उनी ६ महिना १० अनसन बसिसकेका छन् । आफ्ना माग पूरा नभएको भन्दै डा. केसी थोरैमा तीन दिनदेखि धेरैमा २३ दिनसम्म अनसन बस्नुपरेको छ ।
सरकारले अघिल्ला पटकका अनसनका सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै १५औं अनसन सुरु गरेको डा. केसीले यसपटक जुम्ला र काठमाडौंमा गरी २४ दिन बिताइसकेका छन् । सरकारले वार्ताका लागि गम्भीर पहल नलिएपछि उनको यसपटकको अनसन कति दिन चल्ने हो कुनै टुङ्गो छैन ।
रेकर्ड तोडियो तर माग पूरा भएन
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १५औं पटक अनसनरत डा. गोविन्द केसीको अनसनको नयाँ रेकर्ड बनेको छ । असार १६ गतेदेखि अनसन बसेका केसीको १५औं अनसन २४ दिन लामो भइसकेको छ ।
यसअघि, १४ पटक अनसन बसिसकेका केसीको सबैभन्दा लामो अनसन २३ दिनसम्म चलेको थियो । डा. केसी सरकारले सहमति पालना नगरेको भन्दै ११औं पटक तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा अनसन बसेका थिए । त्यसबेला २२ दिनसम्म सरकार माग पूरा गर्न सहमत भएको थिएन । डा. केसीको दसौं अनसन २२ दिन चलेको थियो ।
जारी १५औं अनसन कति दिनसम्म चल्छ भन्ने कुरा सरकारसँगको वार्तामा भर पर्ने भए पनि वार्ता अझै अनिश्चित छ । यसबीचमा सरकारी वार्ता टोली र केसी पक्षबीच दुई पटक वार्ता भए पनि सहमतिको ढोका खुल्न सकेको छैन । उनको स्वस्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै छ । तर, सहमतिका लागि ठोस संवाद हुन नसक्दा अनसन अझै लम्बिने देखिन्छ । सरकार पक्ष र केसी दुवै आ–आफ्ना अडानबाट पछि नहटेकाले संवादको वातावरण बन्न सकेको छैन ।
डा. केसीका कुन अनसन कति दिन ?
कहाँ अड्कियो सहमतिको हलो ?
डा. केसीले संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने मुख्य माग राखेका छन् । सरकारले वार्ताका लागि गठन गरेको वार्ता समिति अधिकार सम्पन्न नभएको भन्दै अर्को टोली गठन हुनुपर्ने डा. केसीको अडान छ । मन्त्रीस्तरीय वार्ता कमिटी गठन हुनुपर्ने उनको माग छ । तर, सरकार विधेयक फिर्ता हुनै नसक्ने भन्दै संसदबाटै समस्याको समाधान खोज्नुपर्ने अडानमा छ । शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले पत्र पठाए पनि केसी पक्ष वार्ताका लागि तयार नभएको सरकारी टोलीको भनाइ छ ।
अनसन लम्बिँदै जाँदा डा. केसीको अनसनले राजनीतिक रुप धारण गरेको छ । विपक्षी कांग्रेसले सकेसम्म बढी राजनीतीकरण गर्न चाहेको छ । तर, सरकारले राजनीतिक मुद्दा बन्न नदिन कोशिश गरिरहेको छ । डा. केसीको जीवन रक्षाका लागि सर्वत्र आवाज उठिरहे पनि सहमति जुट्न सकेको छैन । उनको स्वास्थ्यप्रति सरकार गम्भीर नदेखिएको डा. केसीका शुभचिन्तकहरुको आरोप छ । ‘चिकित्सा शिक्षा सुधारका लागि सरकार गम्भीर देखिएको छैन,’ डा. केसीका वार्ता टोलीका सदस्य डा. जीवन क्षेत्रीले भने, ‘सरकारले वार्ताका लागि कुनै पहल नगर्दा अन्योल बढेको छ ।’
यो पनि पढ्नुहोस्
सात सरकारविरुद्ध डा. केसीका १५ अनसन
प्रकाशित समय १८:०२ बजे