गृहपृष्ठ जिरो स्पिडमा मेयरसा’बको अन्तरिक्ष यात्रा

जिरो स्पिडमा मेयरसा’बको अन्तरिक्ष यात्रा

sky-scene-newskarobar

सूचना र सञ्चारको पहुँचभित्र रहेका हामी नेपाली, अचेल विश्वका नवीनतम् उपलब्धि तत्काल अवलोकन गर्न सक्छौं । विश्वले हासिल गरेका विकासका नमुनादेखि विनासका घटनासम्म हाम्रासामु उतिबेलै आइपुग्छन् । हाम्रो चेतनास्तर सानो होला तर विश्व अवलोकन गर्न हाम्रा आँखा साना छैनन् । हामीसँग प्राविधिक क्षमता कमजोर होला तर प्रविधि प्रयोगको अभिलाषा उत्कट छ । हामीलाई जटिल ढंगले जीवन जिउने बानी परेको छ तर त्यसको अर्थ सहज जीवनयापन हामी सहन सक्दैनौं भन्ने होइन ।

नेपालजस्तो अतिकम विकसित देशको एउटा सहरमा बसेर हामी संसारको प्रगति नियालिरहेका छौं । र, हरेक श्वाससँगै सोचिरहेका छौं– अहो ! मेरो देश पनि यस्तै भइदिए ! हामी पुराणमा वर्णित देख्दै नदेखेको स्वर्गको कल्पना गर्छौं अनि मरेपछि पनि त्यहीँ जाने उत्कण्ठा पाल्छौं भने स्वर्गानुभूति दिलाउन सक्ने विश्वले भोगिरहेका कृत्रिम उपलब्धिले हामीलाई कति आहट तुल्याइरहेको होला !

यति भन्दै गर्दा संसारकै सुन्दर मेरो देशमाथि कुनै प्रकारको संशय राखेको नदेखियोस् । म आधुनिकताको कुरा गरिरहेको छु अनि कृत्रिमताको कुरा गरिरहेको छु । सुन्दर देशलाई थप सुन्दर बनाउनुपर्ने चाहना व्यक्त गरिरहेको छु । र, मेरो चाहनामा तगारो बनिरहेका मेयरसा’बहरुको कुरा गरिरहेको छु ।

वास्तवमै, मेरा सहरका लिडरहरु मेरो चाहनामा तगारो बनिरहेका छन् । मेरो सुन्दर देश अझ सुन्दर बनेको हेर्न चाहने रहरहरुमाथि ‘आइरन गेट’ बनिरहेका छन् । र, यो कसैबाट छिपेको छैन ।
म स्वतन्त्र ढंगले सास फेर्न चाहन्छु तर मेरा मेयरहरुसँग म बाँचिरहेको सहरलाई धुलोधुवाँमुक्त बनाउन सक्ने सामथ्र्य छैन । म निर्धक्कसँग सहर घुम्न चाहन्छु तर मेरा मेयरहरुसँग सडकका खाल्डाखुल्डी पुर्न सक्ने इच्छा छैन । म आधा रातसम्म सहर विचरण गर्न चाहन्छु तर मेरा मेयरहरुसँग सुरक्षा दिलाउने हैसियत छैन । संसारमा सायद अर्को यस्तो राजधानी नहोला, जुन ८ बज्दै गर्दा ‘मृत सहर’मा परिणत होस् तर यसप्रति मेयरहरुलाई कुनै चिन्ता छैन ।

मेरा मेयरहरुसँग योजना नै नभएका भने होइनन्, अथाह छन् । यी सहरलाई संसारकै नमुना बनाउने अठोटहरु छन् । अफ्रिकन युवतीका गालाजस्ता सडक बनाउने रहरहरु छन् । स्मार्ट सिटी बनाउने आकांक्षा छन् । तर, यी अठोट, रहर अनि आकांक्षा कहाँबाट आउँछन् र कसरी अलप हुन्छन् भन्ने उनीहरुलाई नै थाहा हुँदैन । जनतालाई गुमराहमा राख्न प्रयोग गरिएका अस्त्ररुपी चुनावी नारा इम्प्लिमेन्ट गर्नुपर्ने दायित्वबोध झन् गर्नै पर्दैन ।

राजधानी सहरका काठमाडौं, भक्तपुरसहितका केही नगरपालिकाका प्रमुखलाई मैले यसरी सोधेको छु–
तपाईंको नगरमा कति घर छन् ?
– थाहा छैन ।
तपाईंको नगरमा कति मठमन्दिर, देवस्थल छन् ?
– थाहा छैन ।
तपाईंको घरबहाल कर उठाउन सक्ने क्षमता कति छ ?
– थाहा छैन ।
तपाईंले चाहनुभयो भने पार्किङ शुल्क कति उठाउन सक्नुहुन्छ ?
– थाहा छैन ।
सडक र फुटपाथ सवारी पार्किङ र पसलले भरिन्छन्, किन केही गर्नु हुन्न ?
– गर्दै छौं ।
तपाईंको नगरमा कति होटल छन् ?
– थाहा छैन ।
तपाईंको नगरमा कस्ता–कस्ता मानिस बस्छन् ?
– थाहा छैन ।
तपाईं कति सुरक्षित हुनुहुन्छ ?
– धेरै असुरक्षित छु ।
तपाईंको नगरमा सिम क्षेत्र, ताल–पोखरी, ढुंगेधाराका सम्भावित क्षेत्र कति छन् ?
– थाहा छैन ।
तपाईंको सहरमा कस्ता–कस्ता साइजका कति सडक छन् ?
– थाहा छैन ।
तपाईंको सहरमा के–कस्ता व्यापार व्यवसाय सञ्चालनमा छन् ?
– थाहा छैन ।
यातायातका साधन कति छन्, कसरी चलिरहेका छन् ?
– थाहा छैन ।
सडक र खोलामा फोहोर फलिन्छ भन्ने थाहा छ ?
– थाहा छ ।
खानेपानी कति घरले पाइरहेका छन्, कतिले छैन ?
– त्यो थाहा छैन ।
अनि एक वर्षमा के–के गर्नुभयो त ?
– धेरै गरियो । गरेको कसैले देख्दैन ।

 

सहरी विकासका आधारभूत मापदण्ड हुन् यी प्रश्नहरु । तर, मेयरसा’बहरु यी प्रश्नका ठोस उत्तर दिन जरुरी ठान्दैनन् न त यी प्रश्नहरुका उत्तर खोज्ने प्रयास नै गर्छन् । गर्थे भने नगरको बागडोर सम्हालेको १५ महिनासम्ममा आफैं एउटा निष्कर्षमा पुग्थे– सहर बनाउन उरन्ठ्यौला भाषण होइन, दूरदर्शी योजना हुनुपर्छ । सहर बनाउन कागजमा लेखिएका प्रतिबद्धता साकार पार्ने अठोट हुनुपर्छ । तर, कागज र कलमको कुनै मूल्य नबुझेका मेयरसा’बहरु जनतालाई पङ्गु बनाउँदै आगामी चार वर्ष मोज गर्न उद्यत देखिन्छन् ।

मेयरसा’बहरू ‘सहर विकास गर्ने रहर’ बोकेर शून्य गतिमै अन्तरिक्ष यात्रामा निस्किएका छन् । तर, कसले सम्झाइदिने- जिरो स्पिडमा अन्तरिक्ष यात्रा गर्ने सपना देख्नु भनेको तोरीको तेलमा चिप्लिएर अमेरिका पुग्छु भन्नुजत्तिकै हो ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु