गृहपृष्ठ सडकमै फोहोर फाल्छन्, वाणिज्य बैंक र बिमा संस्थान
सडकमै फोहोर फाल्छन्, वाणिज्य बैंक र बिमा संस्थान

काठमाडौं– विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको सहभागितामा मंगलबार बिहान राजधानीमा सरसफाइ कार्यक्रम गरिएको छ । हजारौं स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट सुरु भएर भद्रकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्युरो अस्पतालअगाडि पुगेर समापन भयो ।
‘वी लभ यु फाउन्डेसन’ नामक संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रमको नेतृत्व मन्त्री बस्नेतले गरेका थिए । मुखमा मास्क र हातमा कुचो लिएर मन्त्री आफैं सरसफाइमा सहभागी भए ।
सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्दीय कार्यालय र राष्ट्रिय बिमा संस्थानअगाडि फोहोरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारीलाई बोलाएर तत्काल फोहोर हटाउन निर्देशन दिए । र, भने, ‘आगामी दिनमा पनि यस्तो फेला पारियो भने कारबाही गर्छु ।’ कार्यालय अगाडि फोहोर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहोर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभए जरिवाना तिराउने उनले बताए ।
मन्त्री बस्नेतले सिंदरबारभित्र र बाहिरका चमेना गृहलाई पनि तत्काल फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सरकारले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकको ग्यारेन्टीका लागि विश्व वातावरण दिवसका अवसरमा मंगलबार नेपाल स्वच्छ वातावरण महाअभियानको थालनी गरेको मन्त्री बस्नेतले जानकारी दिए । सरसफाइ अभियानलाई गाउँगाउँसम्म अभियान पुर्याउने उनले बताए । ‘राजधानी र सहरमा मात्र होइन, हामी मुलुकका ७७ वटै जिल्ला, सबै स्थानीय तह हुँदै टोलटोल र घरघरमा सरसफाइ अभियान पु¥याउँछौं,’ उनले भने, ‘स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेकको कदममा साथ दिन आम नागरिकलाई अपिल गर्दछु ।
प्रकाशित समय ११:३५ बजे