गृहपृष्ठ बौद्ध दर्शन : जन्म-मरणको चक्रका कारण मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन
बौद्ध दर्शन : जन्म-मरणको चक्रका कारण मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन
बुद्ध पूजामा सहभागी भिक्षु ।
आज दुई ५६४औँ बुद्ध जयन्ती विश्वभर मनाइँदै छ । बुद्ध जन्मस्थल लुम्बिनीसहित विभिन्न स्थानमा गौतम बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गरी बुद्ध जयन्ती मनाउने गरिन्छ । कोभिड- १९ को जोखिमका कारण यसपटक औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । यस वर्ष बुद्ध जन्मस्थलमा मनाइने बुद्ध जयन्तीका सबै कार्यक्रम स्थगन गरिएको छ ।
औपचारिक कार्यक्रम स्थगन भए पनि सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दुई हजार ५६४ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए । आज बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गरेका छन् ।
‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउने तयारी गरिए पनि कोरोना संक्रमणका कारण स्थगन गरिएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो ।
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक शाक्यमुनि गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्मले बताए ।

२००८ साल जेठ ८ गते बुद्धजयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्ध जयन्तीका दिन हत्याहिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । अहिंसा धर्मका प्रवर्तक गौतम बुद्धको जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षका उमेरमा तिलौराकोट दरबार त्यागेर ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको ध्यानपछि ३६ वर्षका उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।
बुद्धले चार आर्य सत्य, आर्य अष्टांगिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिएका छन् । चार आर्य सत्य संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपाय छ भनी बुद्ध दर्शनमा व्याख्या गरिएको छ । ‘बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्,’ भिक्षु धम्मले भने। आर्य अष्टांगिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् ।
बौद्ध दर्शनको आधारशिला प्रतीत्यसमुत्पाद हो । हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्तअनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञान), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरीर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाति (जन्म) र जरामरण पर्छन् । यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ ।
यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ । बुद्धले दिएका उपदेशलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक (त्रिपिटक) गरी तीन ग्रन्थमा विभाजन गरिएको छ । सुत्तपिटक बौद्ध भिक्षुहरुको पहिलो संगीति (सम्मेलन)बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको हो जसमा बुद्धका उपदेशहरु छन् । विनयपिटकमा भिक्षुभिक्षुणीका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको संग्रह गरिएको छ ।
प्रकाशित समय १३:५३ बजे

















