गृहपृष्ठ ‘कि लकडाउन गर कि खुला गर’ (तस्बिरमा लोकन्थली क्षेत्र)
‘कि लकडाउन गर कि खुला गर’ (तस्बिरमा लोकन्थली क्षेत्र)
नोवल कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले लगातार मन्त्रिपरिषदबाट निर्णय गराउँदै लकडाउन थपिरहेको छ । बुधबार मात्र पनि सरकारले ४२ प्रकारका बाहेक कुनै पनि उद्योग प्रतिष्ठान सञ्चालन गर्न नपाउने गरी जेठ ५ गतेसम्मका लागि लकडाउन थप गरेको छ । तर, मध्यपुर ठिमी नगरपालिकाका लोकन्थली, कौशलटार, गठ्ठाघरलगायतका क्षेत्रमा भने निर्वाध सबै किसिमका पसल, सटर खुल्ने गरेका छन् ।
लोकन्थली क्षेत्रमा बिहीबार बिहान पनि निर्वाध पसल सटर खुलेका थिए । सडकमा मानिसहरूको उपस्थिति निकै बाक्लो थियो । कपडा पसल, भाँडा पसल, फेन्सी स्टोर, कस्मेटिक स्टोर, पर्दा तथा कार्पेट पसल सबै खुला थिए । देशका विभिन्न क्षेत्रमा कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमितको संख्या बढ्दै जाँदा प्रधानमन्त्री स्वयं नेपालमा कोरोना संक्रमणले महामारी रुप लिन सक्ने बताएका छन् । जबकि, २० दिनअघि वैशाख ६ गते उनले नै नेपालमा कोरोनाभाइरसले महामारी रुप लिन नसक्ने बताएका थिए ।
लोकन्थली क्षेत्रमा पसल खुला गर्नेहरू र खोल्न आएकाहरु सबै अरुले खोलेका कारण आफूले पनि खोल्नुपरेको बताउँछन् । गीता फेन्सी पसलकी प्रोप्राइटर गीता पौडेलले सरकारले लकडाउन कि खुला गर्नुपर्ने कि त कडाइ गर्नुपर्ने बताइन् । ‘लोकन्थली, कौशलटारदेखि गठ्ठाघरसम्म सबै खालका पसल खुलिरहेका छन्,’ उनले भनिन्, ‘सबैले खोल्न थालेपछि एक‑दुई जनाले नखोलेर के हुन्छ ?’ कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारले हेलचेक्र्याइँ गरिरहेको उनको आरोप छ ।
त्यस्तै एलएक्स फेसन वेयरका सञ्चालकले पनि सबैले खोलेका कारण खोल्नुपरेको बताए । ‘घर पनि कति बस्नु ? बस्दा बस्दा वाक्क भइयो, बिहान एकछिन खोल्यो भने फ्रेस भइन्छ, त्यही भएर खोलेको,’ पसल सञ्चालकले भने । बिहीबार बिहान लोकन्थली क्षेत्रमा कपडा पसल, जुत्ताचप्पल पसल, ब्युटीपार्लर, कार्पेट, भाँडा पसल, रक्सी पसललगायत खुलेका थिए ।
सडकमा हिँडिरहेका केही मानिस पनि सरकारले लकडाउन कि कडाइका साथ पालना गराउनु, होइन भने खुला गरिदिनुपर्ने बताउँदै थिए । यसबारेमा बुझ्न खोज्दा नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले पटक‑पटक प्रयास गर्दा पनि फोन उठाएनन् । म्यासेज पठाउँदा पनि कुनै रिप्लाइ गरेनन् ।
बिहीबार बिहान लोकन्थली क्षेत्रमा कपडा पसल, जुत्ताचप्पल पसल, ब्युटीपार्लर, कार्पेट, भाँडा पसल, रक्सी पसललगायत खुलेका थिए ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अत्यावश्यक क्षेत्रमा सरकारले सहजीकरण गर्ने निर्णय गरे पनि लकडाउन खुकुलो नपारेको बताए । ‘मानवीय संकटका क्षेत्रमा सरकार सजग छ,’ उनले भने, ‘तर जोखिम बढ्दो क्रममा छ, अहिले लकडाउन खुकुलो पार्ने भन्ने सवाल नै उठ्दैन ।’ गृह मन्त्रालयले लकडाउन उल्लंघन भइरहेका ठाउँमा कडाइ गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको तत्काल ध्यानाकर्षण गराउने उनले बताए ।
सरकारले कृषि तथा पशुपन्छी, स्वास्थ्य, ढुवानी सेवा, पूर्वाधार विकास, आयोजना, ढुंगा, गिटी तथा बालुवा उत्पादन र वितरण, सार्वजनिक सेवा क्षेत्रअन्तर्गतका ४२ प्रकारका उद्योग खोल्न दिन निर्णय बुधबार गरेको छ । सरकारी निर्णयअनुसार खाद्यवस्तु र बाली लगाउने, पाकेको बाली भित्र्याउने, पशुपन्छी, माछा तथा कुखुरापालन र बिक्री‑वितरण, फलफूल तरकारी उत्पादन तथा बिक्री‑विरतण, दुग्धपदार्थ उत्पादन, संकलन, भण्डारण र बिक्री‑वितरण, नर्सरीबाट बिरुवा उत्पादन, घाँस तथा दाना उत्पादन र बिक्री‑विरतण, कृषि बीउविजन उत्पादन, भण्डारण र बिक्री‑ वितरण गर्न पाइनेछ ।
त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब, डायग्नेस्टिक सेन्टर, सबै प्रकारका खोप, अक्सिजन उत्पादन तथा बिक्री‑वितरण, औषधि पसल, आयुर्वेदिक र होमियोप्याथिक सञ्चालन, एग्रोभेट र भेटेरिनरी खोल्न अनुमति दिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
उनका अनुसार पानी, ग्यास, पेट्रोलियम पदार्थ, औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरण लाने र ल्याउने, कृषि सामग्री एवं प्रांगारिक मल बोकेका साधन, एम्बुलेन्स सेवा र जनक शिक्षा सामग्रीले अनुमति दिएका विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने अनुमति दिइएको छ ।
त्यस्तै सरकारले राष्ट्रिय गौरवका आयोजना, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत, सिँचाइ, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माण र सबलीकरण गर्न पनि अनुमति दिएको छ ।
ती कार्य गर्न एक स्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउने, दैनिक अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, श्रमिकलाई कार्यस्थलमै खाना खाजाको व्यवस्था मिलाउने निर्णय भएको छ ।
सरकारले बैँक तथा वित्तीय संस्था बिमा, धितोपत्र, सरकारी संस्थामार्फत अति आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने र अतिआवश्यक पर्ने सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानले आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीबाट सुरक्षित रुपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै सडक क्षेत्रका होटल तथा रेस्टुराँ पनि खुल्न पाउने भएका छन् ।
तर विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री‑विरतण गर्ने व्यावसायिक मल, होटल, बार, रेस्टुराँ, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लरहरु भने सञ्चालन गर्न पाइने छैन । १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक यात्रुवाहक हवाई उडान गर्न पाइने छैन भने केबलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।
प्रकाशित समय १३:३१ बजे






















