गृहपृष्ठ पाँच लाख राशिको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
पाँच लाख राशिको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
सरकारले पाँच लाख रुपैयाँ राशिको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ घोषणा गरेको छ । मुलुकमा शान्ति, सुशासन, नवप्रवर्तन (इनोभेसन), वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाहरूका लागि पाँच लाख रुपैयाँको राशिको पुरस्कार वा अनुदान प्रदान गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उल्लेख गरेको छ ।
यसबाहेक असाधरण प्रतिभा भएको वा वैज्ञानिक अन्वेषण तथा अनुसन्धान कार्यमा योगदान पुर्याएको आधारमा पुरस्कार वा अनुदान प्रदान गरिने जनाइएको छ । सरकारले यससम्बन्धी कार्यविधिमा संशोधन गरेर सोमबार नयाँ कार्यविधि तथा मापदण्ड जारी गरेको छ ।
पुरस्कार वा अनुदानका लागि नेपालभित्र बसोबास गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शनको माध्यमद्वारा नेपालको पहिचान अभिवृद्धि गेको वा मुलुकको सामाजिक तथा आर्थिक विकास लागि वैज्ञानिक तथा अन्य अनुसन्धान कार्यमा योगदान पुर्याएको र असाधारण प्रतिभा भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले युनिभर्सल पिस फाउन्डेसनबाट पाएको एक लाख अमेरिकी डलरको सुशासन अवार्डको रकममा सरकारले थपेको एक लाख डलर गरी २ लाख डलरको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरी त्यसबाट पुरस्कार प्रदान गर्न लागिएको हो ।
प्रत्येक वर्ष कोषबाट बढीमा दुई जनालाई पुरस्कार वा अनुदान सहयोगमध्ये दुवै जनालाई पुरस्कार वा दुवै जनालाई अनुदान सहयोग वा एक जनालाई पुरस्कार र अर्को एक जनालाई अनुदान सहयोग प्रदान गरिने जनाइएको छ । यस वर्षको पुरस्कार साउन २६ गते प्रदान गरिने र आगामी वर्षदेखि जेठ १ प्रधानमन्त्रीबाट पुरस्कार तथा अनुदान सहयोग प्रदान गरिने जनाइएको छ ।
प्रकाशित समय १६:३९ बजे

















