गृहपृष्ठ सुदूरपश्चिममा आधुनिक सडक आयोजना : अढाइ वर्ष बित्यो, ठेक्का प्रक्रिया नै पूरा भएन
सुदूरपश्चिममा आधुनिक सडक आयोजना : अढाइ वर्ष बित्यो, ठेक्का प्रक्रिया नै पूरा भएन
रमण-पप्पु जेभीलाई कालोसूचीमा राखेपछि थप अन्यौल
धनगढीको क्याम्पस रोड सडक ।
क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का प्रक्रिया टुंग्याउन नसक्दा सुदूरपश्चिम प्रदेशका आधुनिक सडक निर्माण योजनाहरु अन्यौलमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण-पप्पु जेभीलाई कालोसूचीमा राखेपछि चारवटा स्थानीय तहमा लागू भएको सो कार्यक्रम अन्तर्गतका सडक योजनाहरु अन्यौलमा परेको हो ।
ठेक्का लिएर वर्षौदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण-पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा गत पुस २१ देखि एक वर्षसम्म कुनै किसिमका ठेक्का प्रक्रियामा सहभागी हुन नपाउनेगरी सो कम्पनी कालोसूचीमा परेको छ ।
क्षेत्रीय सहरी विकास कार्यक्रमका उपनिर्देशक श्याम बुढाथोकीले रमण-पप्पु जेभीलाई कालोसूचीमा राखिए पनि हालसम्म विभागबाट कुनै सुझाव नआएको बताए । बुढाथोकीका अनुसार कालोसूचीमा राख्नुभन्दा पहिले नै ठेक्का प्रक्रियामा भाग लिएकाले रमण-पप्पु जेभीलाई थप काम दिन सकिने वा नसकिने भन्ने विषय परामर्शकै क्रममा रहेको छ ।
गत असारमै संघीय आयोजना कार्यान्वयन इकाइले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मुल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइसकेको छ । छ महिनासम्म प्राविधिक मूल्यांकन स्वीकृत भएर आउन नसक्दा ठेक्का प्रक्रियाको आर्थिक मुल्यांकनलगायत सडक निर्माणमा समेत ढिलाई भएको छ ।
पाँच वर्षमा क्षेत्रीय सहरी विकास कार्यक्रमको सबै कार्यक्रमहरू कार्यान्वयन गरिसक्ने सर्तमा सम्झौता भए पनि ठेक्का प्रक्रिया र अनिवार्य गर्नुपर्ने भनी सम्झौता भएको फोहोरमैला व्यवस्थापनको काममा ढिलाइ लगायतका कारण काम नै सुरु नभइ अढाई वर्ष बितेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा ११ अर्ब रुपैयाँ लगानी हुनेगरी क्षेत्रीय सहरी विकास आयोजना लागू भएको हो । आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार सुदूरपश्चिमका चारवटै स्थानीय तहमा बन्ने सडकहरुको प्राविधिक मूल्यांकन गरी विभागमा पठाइसकिएको छ । गोदावरी र शुक्लाफाँटा नगरपालिका कार्यालयको भवन निर्माण प्रक्रिया भने अगाडि बढिसकेको छ ।
आयोजनाअन्तर्गत धनगढीमा १०.५, गोदावरीमा १५, भीमदत्तनगरमा १५ र शुक्लाफाँटा नगरपालिकामा ४ किलोमिटर अत्याधुनिक सडक बन्न लागेको हो । सो सडकहरुका लागि धनगढीमा एक अर्ब १० करोड, गोदावरीमा ९० करोड, भीमदत्तमा एक अर्ब ३३ करोड र शुक्लाफाँटामा ३३ करोड गरी तीन अर्ब ६६ करोड रुपैया विनियोजन भएको छ ।
पहिलो चरणमा यी सडक निर्माण पूरा गरी क्षेत्रीय सहरी विकास कार्यक्रममा परेका बाँकी सडकहरू दोस्रो चरणमा निर्माण गर्ने योजना बनाइएको छ । तर, पहिलो चरणको निर्माण काम सुरु नहुँदै कार्यक्रमको आधा समयावधि सकिएको छ । कार्यक्रममा परेका सडकहरूमा स्थानीय र प्रदेश सरकारले मर्मतमा समेत लगानी नगरेपछि अधिकांश सडकहरूको अवस्था बिग्रिएको छ । धनगढीको सहिदगेट-क्याम्पस रोड सडक, डिभोटी चोक-पिपलचौतारा सडक र मालपोत रोडमा जताततै खाल्डाखुल्डी परेका छन् ।
सडक निर्माण कार्य यथाशीघ्र अगाडि बढाउनुपर्ने स्थानीयहरूको माग छ । कार्यक्रमको समायावधि सकिन लागेकाले कुनै पनि बहानामा ढिलाई गर्न नहुने स्थानीय भवानी सिहं भण्डारीले बताए । ‘ठेक्कामा बाधा गरिरहेको विषयलाई छिट्टै टुंग्याएर सडक निर्माणको काम अगाडि बढाउनुपर्छ,’ उनले भने ।
प्रकाशित समय १४:२९ बजे

















