गृहपृष्ठ मुक्त कमैयालाई लकडाउनमा घरखर्च चलाउन लिएको सापटी तिर्न समस्या

मुक्त कमैयालाई लकडाउनमा घरखर्च चलाउन लिएको सापटी तिर्न समस्या

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब ४ महिना लामो लकडाउन मंगलबार रातिदेखि खुला गरेको छ । लकडाउन अवधिमा दैनिक ज्यालामजदुरी गर्ने न्यून आय भएका मानिसहरु निकै समस्यामा परे । सरकारी तथा गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट राहत वितरण भए पनि सम्बन्धित व्यक्तिसम्म नपुगेको पाइएको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई प्राथमिकतामा राखेर राहत वितरण गर्नुपर्ने सरकारले नियम बनाए पनि अधिकांश स्थानमा सोको पालना नभएको स्थानीयवासीले बताएका छन् । करिब ४ महिना लामो लकडाउन अवधिभरमा कैलालीका मुक्त कमैयाहरुले २० किलो चामल मात्र पाएका छन् । कमैयाबाट मुक्ति पाएसँगै शिविरमा बसिरहेका उनीहरु दैनिक ज्यालादारीमा काम गरेर घर खर्च चलाउँछन् । तर कोरोना रोथामका लागि सरकारले लकडाउन गरेपछि उनीहरुलाई घर खर्च चलाउन निकै समस्या परेको थियो । आर्थिक अवस्था राम्रै भएका व्यक्तिहरुले समेत राहत पाइरहँदा आफूहरुले भने ४ महिनाको अवधिमा २० केजी चामल र ५ केजी दाल मात्रै पाएको मुक्त कमैयाहरुको गुनासो छ ।

कैलालीको गोदावरी नगरपालिका- ५ मा पर्ने कत्था मुक्त कमैया शिविरका २७ परिवारले १० दिन पुग्नेगरी समेत राहत नपाएको बताए । उनीहरुलाई लकडाउनमा घर खर्च चलाउन सापटी लिएको रकम अहिले तिर्नै मुस्किल परेको गोदावरी नगरपालिका- ५ कत्था मुक्त कमैया शिविरकी ममता देवी डँगौराले बताइन् ।

२० केजी चामल, दाल, तेल तथा साबुन राहतमा पाएका मुक्त कमैयाहरुले स्थानीय तहबाट हुनुपर्ने राहत उपलब्ध नभएको गुनासो सुनाए । वडाबाट १० किलो चामल, दाल तथा नुन, तेल र केही मास्क भए पनि अन्य संघ-संस्थाबाट राहत नपाएको शिविरकी अध्यक्ष रतरानीदेवी चौधरीले बताइन् । लकडाउनका बेला २ दिनसम्म भोकै बसेको उनले सुनाइन् । ‘साहुकहाँ काम गरेको पैसा रोकिएका बेला कतै ऋण खोज्न जाने अवस्थासमेत नहुँदा अत्यन्त समस्या भोग्यौं,’ उनले भनिन् ।

स्थानीय सरकारले भने बढी समस्यामा परेकाहरुलाई प्राथमिकतामा राखेर सबैसम्म राहत पुर्‍याउने कोशिस गरेको दावी गरेको छ । सबैभन्दा पहिले अतिविपन्नको विवरण संकलन गरी शिविरमा खाद्यान्न वितरण गरेको जनप्रतिनिधिहरुको भनाइ छ । सुरुवाती चरणमा २० किलो चामल तथा नुन, तेल र दोश्रो चरणमा समस्यामा परेका व्यक्तिहरु छनौट गरी सोही अनुसारको राहत उपलब्ध गराएको वडाध्यक्ष कर्ण सिंह बोहराले बताए । प्रदेश तथा नगरपालिकाबाट आएको राहतमात्रै नभएर निजी क्षेत्रको सहयोगबाट समेत समस्यामा परेका सबैसम्म राहत पुर्‍याइएको उनको भनाइ छ ।

समस्यामा परेका मुक्त कमैयाहरुका लागि अहिले केही संघ-संस्थाले राहत उपलब्ध गराइरहेका छन् । गत बुधबार मुक्त कमैयाहरुको हकहित तथा मर्यादा अभिवृद्धि परियोजना र कमैया प्रथा उन्मुलन समाजले शिविरमा राहत उपलब्ध गराएको छ । उक्त संस्थाहरुले २५ केजी चामल, २ केजी दाल तथा नुन, तेल र स्यानिटरी प्याड उपलब्ध गराएको हो ।

महामारीका बेला मनलाग्दी ढंगले राहत वितरण गरिरहेको पाइएको छ । पहुँच हुनेहरुले पटक-पटक राहत सामग्री पाए पनि साँच्चिकै ‘लकडाउनपीडित’हरुले भने एकपटक पनि राहत नपाएको गुनासो छ । केही स्थानमा दोहोर्‍याई-तेहेर्‍याई राहत बाँडिएको थियो भने कतिपयले लकडाउनभर राहतको ‘मुख’समेत देख्न नपाएको बताएका छन् ।

प्रकाशित समय १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु