गृहपृष्ठ मलेसियाका लागि श्रम स्वीकृति बन्द हुनुका दुई कारण
मलेसियाका लागि श्रम स्वीकृति बन्द हुनुका दुई कारण

वैदेशिक रोजगारीमा जाने नेपालीका लागि सबैभन्दा ठूलो देश मलेसिया हो । मलेसियामा मात्रै ५ लाख नेपाली रहेका छन् । तर, जेष्ठ २ गतेयता नेपाल सरकारले मलेसियाका लागि श्रम स्वीकृति नदिएका कारण मलेसियाको श्रम यात्रा बन्द छ ।
त्यसो त दुई महिनायता मलेसियाबाट नेपाल आउनेको संख्या बढ्दो छ भने जाने यात्रुको संख्या शून्य छ । पुरानो श्रम स्वीकृति पाएकाहरु सहजै आउजाउ गरिरहेका छन् भने नयाँका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ । यतिखेर नेपाल–मलेसिया आउजाउ गर्ने एयरलाइन्सको व्यापारसमेत बिदामा आएका कामदारले धानिदिएका छन् ।
नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारीको गन्तव्य मलेसिया कहिले खुल्छ त ? अहिले हातमा पासपोर्ट बोकेर मलेसिया उड्ने तरखरमा रहेका युवाको मनमा खेलिरहेको प्रश्न हो यो ।
यस प्रश्नको जवाफ अझै स्पष्ट भइसकेको छैन । श्रम मन्त्रालयले नेपाली कामदार माथि हुने लुट नियन्त्रणको कदम भन्दै श्रम स्वीकृति बन्द गरेको थियो । श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् ।
पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु । जेठ १ सम्म मलेसियाका तर्फबाट स्थापित भीएलएन, वानस्टेप सेन्टर, माइग्राम्स, इमिग्रेसन क्लियरेन्स सिस्टम र बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण हुन्थ्यो । मलेसिया सरकारले दिएको ‘कलिङ भिसा’ राहदानीमा लगाउन यी ५ तह पार गर्नुपथ्र्यो ।
यी सबै पार गर्दा सात सय रुपैयाँको भिसा शुल्क १९ हजार ३ सय २३ रुपैयाँ पुग्थ्यो । यो नेपाली कामदारमाथि गरिएको ठुलो ठगी हो । यही ठगी नियन्त्रणका लागि सरकारले श्रम स्वीकृति बन्द गरिदिएको हो ।
यसको निकासका लागि सरकारले अहिलेसम्म प्रभावकारी कदम चाल्न सकेको छैन । यता, हजारौँ युवा भने कहिले श्रम स्वीकृति खुल्छ भनी पर्खेर बसेका छन् ।
प्रकाशित समय ०८:०४ बजे