गृहपृष्ठ घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् ।
मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले जानकारी दिए ।
साँघुरो सडकलाई संरचना हटाएर आठ मिटर फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको छ ।
स्थानीयले सडक ढलान र नाली बनाउन पाँच÷पाँच दिनका दरले श्रमदानसमेत गरेका थिए । गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक संकलनको तयारी भएको स्थानीय देवबहादुर पुनले बताए ।
सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । उपभोक्ताले दुई लाख ३७ हजार ७८० रुपैयाँ बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।(रासस)
प्रकाशित समय ०८:५३ बजे

















