गृहपृष्ठ जनकपुरधाममा ५० लाखको फूलमाला कारोबार
जनकपुरधाममा ५० लाखको फूलमाला कारोबार
यस वर्ष तिहारमा जनकपुरमा मात्र ५० लाख रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ ।
रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको जानकारी दिए । भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख बराबरको फूलको कारोबार भएको थियो ।
पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए ।
फूल व्यवसायी मालीले भने, ‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर पूmलको माग बढेपछि गेना (सयपत्री), रजनीगन्धा (गोदावरी), मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।’
भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिएको थियो । भारतबाट आयात यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाइ छ ।
यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक २० देखि २५ हजार रुपैयाँ बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताए ।(रासस)
प्रकाशित समय ०९:०६ बजे

















