गृहपृष्ठ कर्णाली प्रदेशको बजेट पारित

कर्णाली प्रदेशको बजेट पारित

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट पारित भएको छ । बुुधबार बसेको प्रदेशसभाको छैठौँ अधिवेशनको २८ औँ बैठकमा आगामी वर्षको बजेट सर्वसम्मति पारित भएको हो ।

सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष तथा प्रतिपक्षकै सांसद असन्तुष्ट थिए । प्रतिपक्षले बजेटमाथि असन्तुुष्ट जनाउँदै करिब १० दिनसम्म बैठक अवरुद्ध गरेको थियो । बजेटमाथीको सांसदहरुको असन्तुष्टिलाई सम्बोधन गर्न संसदीय दलको कर्णाली प्रदेशको बैठक करिब तीन दिनसम्म बसी लामो छलफल गरेको थियो । सरकारले प्रदेशसभा सदस्यहरुको मागलाई सम्बोधन गरेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरु बजेटमा सहमति जनाएका हुन् ।

बैठकमा सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बजेटलाई सन्तुलन कायम गर्ने गरी सरकार अघि बढ्ने बताए । बुधबार प्रदेशसभाको छैठौँ अधिवेशनको २८ औँ बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री शाहीले सन्तुलन कायम गर्ने गरी सरकारसँग योजना रहेको बताए ।

कर्णालीका जनताको आवश्यकता पूरा गर्नु सरकारको दायित्व भएको भन्दै मुख्यमन्त्री शाहीले सरकारले आफ्नो तर्फबाट अभाव र समस्याका बिचपनि निरन्तर लागि परेको बताए । यस्तै बैठकमा कर्णाली प्रदेश आर्थिक विधेयक २०७७ पनि सर्वसम्मतिले पारित भएको छ । विधेयकको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले आर्थिक अनुशासन कायम गर्न सरकार निर्ममताका साथ लाग्न जरुरी रहेको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको बैठकमा बोल्दै भ्रष्टाचार नियन्त्रण, मितव्ययिता, खर्च चालू खर्च जोगाउन र आर्थिक अनुशान बचाउन सरकार गम्भीर भएको बताए । उनले आर्थिक अनुसाशनसँग जोडिएका विनियोजन विधेयक, आर्थिक ऐन, कर तथा गैरकर सम्बन्धि कानुन भएकाले सरकार निर्ममताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, उपचार, कृषि उत्पादन र रोजगारी केन्द्रीत बजेट ल्याएको छ । असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु