गृहपृष्ठ लकडाउनले रगत अभाव, थालेसिमियाका बिरामी बढी प्रभावित
लकडाउनले रगत अभाव, थालेसिमियाका बिरामी बढी प्रभावित
नोवेल कोरोनाभाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न सरकारले भौतिक दूरी कायम गर्न लकडाउन गरेपछि रगत अभाव चुलिएको छ । रगत अभावका कारण थालेसिमिया, क्यान्सरलगायतका बिरामी र प्रसूति तथा सुत्केरी बढी प्रभावित भएका छन् ।
नेपाल थालेसिमिया सोसाइटीका सचिव कमलनाथ उप्रेती रगत अभावका कारण सोसाइटीमा आबद्ध करिब ३०० बिरामी समस्यामा परेको बताउँछन् । ‘सातामा ६० भन्दा बढी बिरामीले रगत चढाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘रगत अभावमा अधिकांशको स्वास्थ्यमा समस्या निम्तिनसक्ने खतरा बढेको छ ।’
सोसाइटीमा आबद्ध थालेसिमियाका बिरामीले २०६२ सालदेखि नियमित निःशुल्क रगत चढाउँदै आएका छन् । थालेसिमियाका हरेक बिरामीले १५ दिनदेखि १९ दिनभित्र एकदेखि तीन पिन्टसम्म रगत चढाउनुपर्ने हुन्छ । शरीरको रगत उत्पादन क्षमता अत्यन्त कम हुने भएकाले थालेसिमियाका बिरामीले रगत चढाउनैपर्ने सचिव उप्रेतीले बताए ।
ब्लड बैंकलगायतका रक्त प्रदायक संस्थामा रगत नभएकाले आफूहरु जस्ता बिरामीको बाँच्ने आधार नै हराएको उनले बताए । ‘हाम्रो बाँच्ने आधार भनेकै नियमित रगत प्रत्यारोपण हो,’ उनले भने, ‘रगत अभावमा थालेसिमियाका सबै बिरामीको जीवन जोखिममा परेको छ ।’ महिनामा दुई पिन्ट रगत चढाउँदै आएका उनले २१ दिनदेखि अभाव व्यहोरिरहेका छन् ।
नेपालभर थालेसिमियाका एक हजारभन्दा बढी बिरामी रहेको अनुमान छ । तर, हालसम्म काठमाडौंमा ३००, विराटनगरमा ६०, चितवनमा ८० र नेपालगन्जमा ६० जनाभन्दा बढीको तथ्यांकमात्र सोसाइटीसँग छ ।
नेपाल रेडक्रस सोसाइटीका ह्युमेनिटेरियन भ्यालुज एन्ड कम्युनिकेसन डाइरेक्टर दिव्यराज पौडेल रगत संकलनसँगै माग पनि घटेको बताउँछन् । ‘मागभन्दा संकलन ठूलो मात्रामा घटेकाले केही दिन मात्र जसोतसो म्यानेज हुनसक्छ,’ उनी भन्छन्, ‘लकडाउन लम्बिँदै जाँदा रगत अभावको विकराल स्थिति आउन सक्छ ।’ उनका अनुसार थालिसिमियाका बिरामी, मृगौलाको नियमित डायलासिस गराउनुपर्ने बिरामी, क्यान्सरका बिरामी तथा प्रसूतिलाई रगत बढी आवश्यक पर्छ ।
मुख्यतः लकडाउनका कारण रक्तदान कार्यक्रम गर्न नसक्दा अभाव चुलिएको हो । काठमाडौंमा जस्तै बाहिरका जिल्लामा रगतको झनै अभाव बढेको डाइरेक्टर पौडेलले बताए । ‘विगतमा दैनिक २०० देखि ३०० पिन्टसम्म रगत संकलन हुन्थ्यो,’ उनले भने, ‘अहिले दैनिक २०‑२५ पिन्ट मात्र संकलन भइरहेको छ ।’ यो पनि विशेष तरिकाले संकलन गरिरहेको उनले बताए । ‘अस्पतालनजिक पुगेर, युवा परिचालन गरेर र उपत्यकामा क्याम्प सञ्चालन गरेर पनि रगत संकलन गरिरहेका छौं,’ डाइरेक्टर पौडेल भन्छन्, ‘घरदैलो पनि गरिरहेका छौं, रक्तदाताले बोलाएर पनि रगत दिइरहेका छन् ।’
रक्तदाताले घरमै बोलाएर रगत दिनसक्ने उनले बताए । ‘रक्तदाताले बोलाए भ्यानसहित मेडिकल टिम घरमै पठाएर सावधानीपूर्वक रगत झिक्ने गरेका छौं,’ उनी भन्छन्, ‘यसका लागि हामीले सबैलाई अपिले पनि गरिरहेका छौं ।’ उनले नातागोतामा कोही इच्छुक भए खबर गरिदिन पनि आग्रह गरेका छन् ।
प्रकाशित समय ११:०८ बजे

















