गृहपृष्ठ कोरोनाको त्रास छल्न घर पुगेकाहरू धमाधम बाली थन्क्याउँदै

कोरोनाको त्रास छल्न घर पुगेकाहरू धमाधम बाली थन्क्याउँदै

gahu_newskarobar

कोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरू बस्ती–बस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् ।

गहुँ, आलस (तेलबाली), बदाम, रहरिया सिमी, केराउ, रहर र मुसुरोसहितका दलहन बाली थन्क्याउने बेला जनशक्ति नपुगेर हैरान हुने गरेका यहाँका किसानलाई यसपालि परिवारका सबै सदस्य घर आएपछि राहत भएको हो । काम गर्ने कृषि श्रमिक नपाएर सधैँ बाली थन्क्याउन धौधौ पर्ने आफूहरू लाई अहिले कोरोना आपद्कै बीचमा बाहिर गएका सबै परिवारजन घर फिरेपछि थन्क्याउने काममा राहत भएको यहाँका किसानको भनाइ छ ।

‘दुःखले बाली लगाइन्थ्यो, थन्क्याउने बेला श्रमिक नपाएर हैरान हुनुपथ्र्यो’ जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भने,’यसपालि भने कोरोना छल्न घर फिरेका परिवारजनको साथले चाँडै बाली थन्क्याइयो ।’ छोराबुहारी र छोरी कोरोना सन्त्रास छल्न घर फर्केका हुँदा बाली थन्क्याउन सहयोग पाएको कुशवाहाको भनाइ छ । उनीहरू मा महामारीका बेला पारिवारिक सम्मिलनको आनन्द पनि छ । श्रमिक नपाएर चैते बाली थन्क्याउन सधैँ धौधौ पर्ने गरे पनि यसपालि भने चाँडै बाली थन्क्याइएको भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले बताए।

‘जताततै यो के भन्छन्, कोरोनाको हल्ला छ, कहीँकतै निस्कन भएन, घरका परिवारजन सबै जम्मा भएका छन्’ दनुवारले प्रफुल्लित हुँदै भने, ‘खेतबारी जाँदा पनि सबै, घरमा खानपिन गर्दा पनि सबै परिवारसँगै ।’ सिङ्गो परिवार घरमा जम्मा भएपछि विपत्ति छल्ने साहस, घर नछाड्ने अठोट र काममा पनि ऊर्जा थपिएको दनुवारको थप भनाइ छ ।

जिल्लाका सबैजसो बस्तीमा बाहिर कामविशेषले रहेका परिवारजन घर भित्रिएपछि कोरोना सन्त्रासका बीच पनि सुुख र सन्तोस छाएको देखिन्छ । ‘सरकारले भनेको माने त डर छैन रे नि ! आफ्नो घर, खेतबारी आउन जान अप्ठ्यारो छैन, अर्काको घर नजाने र सावधानीसँग बस्नु त हो नि !’ घरमा भेला भएका छोरा–बुहारी, नातिनातिना र भाइभतिजालाई भङ्गाहा–४ कै गृहिणी ६० वर्षीया दीपमाया श्रेष्ठ भने, ‘घरमा सबै छुट्टाछुट्टै बसौँ, खेतमा काम गर्न सबै जाऊँ, यति गर्न त डर रै’न छ नि !’

सन्त्रासबीच सबै परिवार एकसाथ भएपछि यहाँका किसान आफूहरू लाई यो माहामारीले नछुनेमा ढुक्क देखिन्छन् । ‘हामी कतै डुल्न गएका छैनौँ, घरमा चाहिने सामान फोन गरेपछि पसलेले ल्याइदिने गरेको छ’, बर्दिवास–७ मनहरिपुरकी मुना खत्री भन्छन्, ‘सबैले यति गरिदिए त कोरोना फोरोनाको के डर ?’ आपत्का बेला मुरी, चिउरा र सातुसहितका तयारी खानेकुराको जोहो गरेर यो लकडाउन सजिलै पार लगाउन सकिने खत्रीको थप भनाइ छ ।

परिवारका सबै परिवारजन एकसाथ भएपछि चाडपर्व र खेतीपातीको काम पनि रमाइलो भएको छ । यद्यपि जिल्लाका सुदूरदक्षिणी भेगका भारतीय सीमावर्ती भेगमा भने बजार र चोकमा अझै भीड जम्ने गरेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल बताउँछन् । ‘अनावश्यक घुम्ने, चोकबजार निस्कने दक्षिणी क्षेत्रमा बढी देखिएका छन्’, मण्डलले भने, ‘सीमापारिको बिहारमा सङ्क्रमित बढ्दै गएको परिवेशमा यो डरमर्दो भएको छ ।’ सीमानाकामा कडाइसँगै घुमफिरमा कडा प्रतिबन्धको थप व्यवस्था गरिन आवश्यक भएको मण्डलको थप सुझाव छ ।
(गोपालप्रसाद बराल/रासस)

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु