गृहपृष्ठ कर्णालीमा कोरोनाले लियो तीन जनाको ज्यान, मृत्युपछि रिपोर्ट पोजेटिभ
कर्णालीमा कोरोनाले लियो तीन जनाको ज्यान, मृत्युपछि रिपोर्ट पोजेटिभ
प्रदेशभर ४० हजार क्वोरन्टिन बेड, बस्नेको संख्या ३२ हजार मात्रै
कर्णाली प्रदेशमा कोरोना भाइरसको कारण तीन जनाको ज्यान गएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका दुई जना र क्वारेन्टिनबाट घर फर्किएका एक युवाको मृत्यु भएको हो ।
तीनै जनाको पिसिआर रिपोर्ट भने मृत्युपछि आएको थियो । दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षीय युवाको भारतबाट आएर क्वारेन्टिन बसेको करिब एकहप्ता पछाडी गत जेठ १७ गते मृत्यु भएको थियो ।
मृत्यु भएका युवाको दुई दिन अगाडी पिसिआर परीक्षणका लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाए पनि रिपोर्ट नआउँदै उनको मृत्यु भएको दुल्लु नगरपालिका दैलेखका प्रमुख घनश्याम भण्डारीले बताए । तर, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले भने युवाको मृत्युपश्चात् मात्रै स्वाब झिकेर परीक्षणका लागि पठाएको भन्दै विज्ञप्ति निकालेको थियो । मृतक युवाको रिपोर्ट मृत्युपश्चात् पोजेटिभ आएको हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका १ सुर्खेतका २० वर्षीय युवाको समेत मृत्यु पश्चात् कोरोना पोजेटिभको रिपोर्ट आएको थियो । बिहिबार बिहान करिब २ बजे मृत्यु भएका युवा क्वारेन्टिनमा बसी घर फर्किएका थिए । भारतको मुम्बईबाट आएर जनता माद्यमिक विद्यालय विद्यापुरमा बसेर घर फर्किएका ति युवाको गत बुधबार आरडिटी परीक्षण गरी कोरोना नेगेटिभ देखिएपछि घर फर्काइए पनि बिहिबार उनको मृत्यु भएको हो ।
गत जेठ २१ गते डोल्पाको जगदुल्ला गाउँपालिका ३ का ७८ वर्षीय बृद्धको समेत मृत्यु भएको थियो । दमका बिरामी उनको आरडिटी परीक्षणपश्चात् नेगेटिभ रिपोर्ट आएपछि घर पठाईएपनि उनको मृत्यु भएपछि भने स्वाब निकाली परीक्षण गरिएको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर गरेपछि उनको समेत रिपोर्ट पोजेटिभ आएपछि वडा सिल गरिएको छ ।
बृद्धसँग सम्पर्कमा आएकाहरुको नामावली संकलनको काम भएको र घरपरिवारहरुको समेत स्वाब भोलिदेखि संकलन हुने उनले बताए । यसरी कर्णाली प्रदेशमा कोरोनाको कारण तीन जनाको मृत्यु भए पनि सबैको मृत्युपश्चात् नै रिपोर्ट आएको छ । आरडिटी परीक्षण गर्ने र कसैलाई परीक्षण नै नगरी घर पठाउने गर्नाले कर्णाली कोरोनाको रेड जोन हुने पक्का छ ।
भारतबाट चैत्र ६ देखि ३५ हजार भित्रिए कर्णाली
नेपाल सरकारले देशभर चैत्र ११ गतेदेखि बन्दाबन्दीको आब्हान गरेको छ । त्यो भन्दा अगावै कर्णालीमा भारतबाट भित्रिनेको लर्को लागिसकेको थियो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार चैत्र ६ गतेदेखि जेठ २३ गतेसम्म कर्णाली प्रदेशमा ३५ हजार ४५९ जना भित्रिएका छन् ।
कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी दैलेख जिल्लाका नागरिक भारतबाट भित्रिएका छन् । हालसम्म १२ हजार ७६९ नागरिक भारतबाट भित्रिएका हुन् । त्यसो त दैलेखमा हालसम्म कोरोना संक्रमितको संख्यासमेत प्रदेशका अन्य जिल्लामा भन्दा बढी छ । दैलेख जिल्लामा हालसम्म ३०८ जना संक्रमित भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले शुक्रबारदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
त्यस्तै भारतबाट भित्रिनेको सुर्खेत जिल्लाका ९ हजार २१९, कालिकोटका ४ हजार ४२५, जाजरकोटका ३ हजार १३, सल्यानका २ हजार ७३७, रुकुम पश्चिमका १ हजार ५२, मुगुका ९९७ र हुम्लाका २१९ जना रहेको मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । यो अवधिमा भने डोल्पा जिल्लाका नागरिक भारतबाट नभित्रिएको उनले बताए ।
प्रदेशभर ४० हजार क्वोरन्टिन बेड, बस्नेको संख्या ३२ हजार मात्र
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा ४० हजार बढी क्वारेन्टिन बेड रहेका छन् । तर, क्वारेन्टिनमा बस्नेहरुको संख्या भने ३२ हजार रहेको छ । प्रदेशका दशवटै जिल्लाहरुमा रहेका ४० हजार ८४७ क्वोन्टिन बेड संख्यामा बाहिरबाट आएर बस्नेहरुको संख्या भने ३२ हजार २३२ रहेको छ । जिल्लागत रुपमा क्वारेन्टिन बस्नेहरुमा सुर्खेतमा रहेका १२ हजार १२४ क्वारेन्टिन बेड संख्यामा ९ हजार ७६६ नागरिक बस्दै आएका छन् ।
त्यस्तै दैलेखमा १० हजार ९ सय २६ क्वोन्टिन बेड संख्यामा ९ हजार ३४२, जाजरकोट जिल्लामा २२ सय ५३ बेड भए पनि २ हजार ३८, सल्यानमा ५ हजार ८१५ बेड संख्यामा ४ हजार ८८, रुकुम पश्चिममा २ हजार ३२० क्वोन्टिन बेड संख्यामा १ हजार ७४६ नागरिक बस्दै आएको रोकायले बताए । त्यस्तै जुम्ला जिल्लामा ७८६ बेड संख्यामा बस्नेहरुको संख्यासमेत ७८६ नै रहेको छ । त्यस्तै कालिकोट जिल्लाममा ४ हजार क्वोन्टिन बेड संख्यामा ३ हजार २७५, मुगु जिल्लामा ४६० बेडमा ५६७, हुम्लामा १ हजार १७५ बेड संख्यामा ६०२ र डोल्पा जिल्लामा ९८५ बेड संख्या क्वोन्टिनमा २२ जना मात्रै बस्दै आएका सूचना अधिकारी रोकायले बताए । उनका अनुसार हालसम्म प्रदेशभर क्वारेन्टिन अवधि पूरा गरी २ हजार २१४ नागरिक घर फर्किएका छन् ।
प्रदेशभर ६३६ बेडको आइशोलेशन भए पनि आइशोलेशन बस्नेहरुको संख्या भने ३१५ जना रहेका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ हजार ३७६ नागरिकको आरडिटी परीक्षण भए पनि ८ हजार ४३३ जनाको स्वाब परीक्षण भएको उनले बताए । प्रदेशभरका ९ हजार ८३१ नागरिकको स्वाब संकलन गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।
उता कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले भने अझै पनि कर्णाली खतरामुक्त नभएको र परीक्षणको दायरा बढाउन आवश्यक रहेको बताइन् । उनले स्थानीय तहसम्म स्वास्थ्यकर्मीहरु अलट रहेको भन्दै ठूलै महामारी आइपरेको भए पनि थेग्न सक्नेगरी तयारी गरिएको जानकारी दिइन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले पिसिआर मेसिन खरीदको लागि तयारी गरेको भन्दै उनले स्थानीय तहहरु आफैले भिटिएम् किट खरिद गरी कोरोना परीक्षणको तयारीमा लागेको बताइन् । पहिले बाहिरबाट आउने नागरिकहरुको कम आँकलन गरिएको र आँकलन गरिएभन्दा बढी नागरिक भारतबाट भित्रिएकोले परीक्षणमा केही समस्या आएको उनको भनाई छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ ।
प्रकाशित समय १५:५१ बजे

















