गृहपृष्ठ पत्रकार सुरक्षाका लागि योजना ल्याउन सरकारसँग आग्रह
पत्रकार सुरक्षाका लागि योजना ल्याउन सरकारसँग आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको जोखिमको अवस्थामा पत्रकार सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा आवश्यक सूचना उपलब्ध गराउन तथा पत्रकारमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेका छन् ।
यसका साथै श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन , पत्रकारको सुरक्षाको सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउन पनि विज्ञप्तमा भनिएकाे छ । ‘बन्दाबन्दीको अवधिमा अनुगमन तथा समाचार संकलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यवहारमा परेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।
‘उनीहरुलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कारे गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेको जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिन्छ,’ आयोगले भनेको छ ।
प्रकाशित समय १५:४१ बजे

















