गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९० लाख नजिक
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९० लाख नजिक
एकै दिन थपिए दुई लाख ८० हजार संक्रमित, डिस्चार्ज हुनेको संख्या एक करोड २१ लाख ६३ हजार
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब दुई लाख ८० हजारभन्दा बढी व्यक्तिमा भाइरस देखिएपछि संक्रमितको संख्या एक करोड ८९ लाख ७५ हजार २५४ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या पनि सात लाख ११ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै करिब आठ हजारको ज्यान गएपछि मृतकको संख्या सात लाख ११ हजार २२० पुगेको हो । त्यस्तै अहिलेसम्म एक करोड २१ लाख ६३ हजार ७५४ जनाको सफल उपचार भएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार विश्वभर कुल संक्रमितमध्ये ६१ लाखको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६५ हजार ५४३ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै ५५ हजार १४८ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ४९ लाख ७३ हजार ५६८ पुगेको हो ।
त्यस्तै अहिलेसम्म एक लाख ६१ हजार ६०१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै अमेरिकामा एक हजार ३११ जनाले ज्यान गुमाएका छन् । अमेरिकी स्वास्थ्य विभागका अनुसार कुल संक्रमितमध्ये २५ लाख ४० हजारको सफल उपचार भएको छ भने २२ लाख ७१ हजारको उपचार भइरहेको छ । उपचार भइरहेका १८ हजार ४२४ जनाको भने स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रकाशित समय ०९:२८ बजे

















