गृहपृष्ठ पर्सामा ३४ र बारामा एक गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा ३४ र बारामा एक गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि
पर्सामा ३४ र बारामा एक जना गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोशालामा बुधबार गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
बुधबार थपिने संक्रमितमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेका छन् भने २ जना पर्साको छिपहरमाई गाउँपालिका र एक जना बारा जिल्लाको प्रसौनी गाउँपालिकाका रहेका छन् ।
वीरगञ्ज महानगरपालिका ९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये ३१ जना र वीरगञ्ज महानगरपालिका ४ मा पर्ने त्रिजुद्ध माध्यमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
१० महिलासहित थपिएका संक्रमितहरु ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका रहेका छन् । वीरगञ्ज महानगरपालिका ९ को रानीघाट र श्रीपुरका १७ जना, वडा नं. १० को घडीअर्वा पोखरीका ४ जना रहेका छन्, त्यस्तै वडा नं. ११ को पानिटंकीका एक जनामा कोरोना संक्रमण देखिएको छ भने वडा नं. ६ माइस्थानका पनि एक जना सङ्क्रमित भएका छन् । त्यस्तै वीरगञ्जको लालपर्सा र वडा नं. नखुलेका ४ जना रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका १ का एक जना पनि संक्रमित भएका छन् । संक्रमित मध्ये केहीमा कोरोनाको लक्षण देखिएको छ । सबै सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका उनले बताए ।
प्रकाशित समय ०८:५१ बजे

















