गृहपृष्ठ विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख ६३ हजार नाघ्यो

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख ६३ हजार नाघ्यो

एकै दिन थपिए दुई लाख ९४ हजार संक्रमित, ६५ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक

फाइल तस्बिर ।

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६३ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै साढे ६ हजारभन्दा बढीको ज्यान गएपछि मृत्यु हुनेको संख्या सात लाख ६३ हजार ५५३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या पनि दुई करोढ १३ लाख नाघेको छ । एकै दिनमा मात्रै संक्रमितको संख्या दुई लाख ९४ हजार थपिएपछि कुल संक्रमितको संख्या दुई करोड १३ लाख ५४ हजार ६८९ पुगेको हो ।

त्यस्तै एक करोड ४१ लाख ४८ हजार संक्रमितको सफल उपचार भएको छ भने ६४ लाख ६३ हजारको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ६५ हजारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ५४ लाख ७६ हजार नाघेको छ ।

एकै दिनमा ६० हजार ६०० जनामा संक्रमण देखिएपछि अमेरिकामा कुल संक्रमितको संख्या ५४ लाख ७६ हजार २६६ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या एक लाख ७१ हजार नाघेको छ । एकै दिनमा मात्रै एक हजार १२० जनाले ज्यान गुमाएका थिए । त्यस्तै २८ लाख ७५ हजारको उपचार भइसकेको छ भने २४ लाख ३९ हजारको उपचार भइरहेको छ ।

ब्राजिलमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै ब्राजिलमा ४९ हजार २७४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ब्राजिलमा ३२ लाख ७८ हजार ८९५ जनामा संक्रमण देखिएको छ भने एक लाख ६ हजारको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै एक हजार सात जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै २३ लाख ८४ हजारको उपचार भइसकेको छ भने सात लाख ८८ हजारको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

प्रकाशित समय १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु