गृहपृष्ठ विश्वभर एक करोड ८६ लाख ४६ हजार कोरोना संक्रमित डिस्चार्ज

विश्वभर एक करोड ८६ लाख ४६ हजार कोरोना संक्रमित डिस्चार्ज

एकै दिन थपिए दुई लाख ८५ हजार संक्रमित, ६१ हजार संक्रमितको अवस्था चिन्ताजनक

विश्वभर एक करोड ८६ लाख ४६ हजार १९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । वर्ल्डोमिटरको तथ्यांकअनुसार दुई करोड ६४ लाख ५६ हजार ५१६ जनामा देखिएको संक्रमणमा एक करोड ८६ लाख संक्रमित उपचारपछि घर फकिएका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा दुई लाख ८५ हजार ७१६ जना संक्रमित थपिएका छन् । त्यस्तै अहिलेसम्म विश्वभर ८ लाख ७२ हजार ४७३ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै पाँच हजार ८५१ जनाले ज्यान गुमाएका छन् भने ६० हजार ९६१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ६३ लाख ३४ हजारमा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ४३ हजा ८६७ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६३ लाख ३४ हजार ६०४ पुगेको हो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ९१ हजार २७ पुगेको छ । बिहीबार मात्रै एक हजार ६३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै ३५ लाख ७२ हजारको सफल उपचार भएको छ भने २५ लाख ७० हजारको उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको दोस्रो ठूलो मुलुकको रुपमा देखिएको ब्राजिलमा पनि कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ४६ हजार नाघेको छ । बिहीबार मात्रै ४४ हजार ७२८ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४० लाख ४६ हजार १५० पुगेको छ । त्यस्तै अहिलेसम्म एक लाख २४ हजार ७२९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८३० जनाको ज्यान गएको छ । त्यस्तै ३२ लाख ४७ हजार संक्रमित डिस्चार्ज भएका छन् भने ६ लाख ७३ हजार संक्रमितको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या ४० लाख नजिक पुगेको छ ।

एकै दिनमा मात्रै ८४ हजार १५६ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ । त्यस्तै अहिलेसम्म ६८ हजारभन्दा बढीको ज्यान गएको छ । बिहीबार मात्रै एक हजार ८३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा ज्यान गुमाउनेको संख्या ६८ हजार ५६९ पुगेको छ ।

त्यस्तै ३० लाख ३२ हजार ९१६ जना डिस्चार्ज भएका छन् भने आठ लाख ३१ हजारको उपचार भइरहेको छ ।  उपचार भइरहेकामध्ये पनि आठ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भारतीय स्वास्थ्य विभागले जनाएको छ । रसियामा पनि कोरोना संक्रमितको संख्या १० लाख ९ हजार ९९५ पुगेको छ ।

गएको २४ घण्टामा मात्रै ४ हजार ९९५ जनामा संक्रमण देखिएको थियो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या १७ हजार ५२८ पुगेको छ । अहिलेसम्म रसियामा आठ लाख २६ हजार ९३५ जनाको सफल उपचार भएको छ भने एक लाख ६५ हजारको उपचार भइरहेको छ ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु