गृहपृष्ठ गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण
गण्डकी प्रदेशका डीआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण
गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो ।
यससहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ । यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि आज कोरोना पुष्टि भएको छ । उनमा ब्रेनह्यामेरेज थियो ।
प्रकाशित समय १४:४० बजे

















