गृहपृष्ठ कोरोनाबाट गण्डकी प्रदेशमा एकको मृत्यु
कोरोनाबाट गण्डकी प्रदेशमा एकको मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो ।
निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड–१९ संक्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
त्यस्तै आज बिहान कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा ५३ हजार ३२९ जनाको पीसीआर नमूना परीक्षण गरिएकोमा ५० हजार ६५७ मा कोरोना संक्रमण देखिएको छैन । संक्रमितमध्ये एक हजार ८०४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ८४६ रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित समय ०९:३४ बजे

















