गृहपृष्ठ कोरोना संक्रमितको संख्या तीन करोड ६० लाख नाघ्यो, दुई करोड ७१ लाख संक्रमित डिस्चार्ज
कोरोना संक्रमितको संख्या तीन करोड ६० लाख नाघ्यो, दुई करोड ७१ लाख संक्रमित डिस्चार्ज
अहिलेसम्म विश्वभर १० लाख ५४ हजारको मृत्यु, ६७ हजार ८२१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ६० लाख नाघेको छ । एकै दिनमा तीन लाख २० हजार संक्रमित थपिएपछि संक्रमितको कुल संख्या तीन करोड ६० लाख ४१ हजार ७८३ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म १० लाख ५४ हजार ६०४ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै ६ हजारभन्दा बढीको ज्यान गएको छ । त्यस्तै अहिलेसम्म दुई करोड ७१ लाख ४५ हजार ५२६ जनाको सफल उपचार भएको छ भने ७८ लाख ४१ हजार ६५३ सक्रिय संक्रमित देखिएका छन् । त्योमध्ये पनि ६७ हजार ८२१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख २२ हजार पुगेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ४३ हजार ६६० जनामा संक्रमण देखिएको छ भने अहिलेसम्म दुई लाख १५ हजार ८२२ जनाको ज्यान गएको छ । त्यस्तै ४९ लाख ३५ हजारको सफल उपचार भएको छ भने २५ लाख ७१ हजारको उपचार भइरहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
दोस्रो बढी संक्रमित फैलिएको भारतमा ६७ लाखभन्दा बढी संक्रमित थपिएका छन् । गएको २४ घण्टामा मात्रै ७२ हजार १०६ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ६७ लाख ५४ हजार पुगेको हो । त्यस्तै अहिलेसम्म एक लाख ४ हजारको ज्यान गएको छ । मंगलबार मात्रै भारतमा ९९१ जनाको ज्यान गएको भारतीय स्वास्थ्य विभागले जनाएको छ ।
विभागका अनुसार अहिले भारतमा ५७ लाख ४१ हजारको सफल उपचार भएको छ भने ९ लाख आठ हजारको उपचार भइरहेको छ । त्यस्तै आठ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।
प्रकाशित समय ०९:४८ बजे

















