गृहपृष्ठ प्रशासनको खेलाँची : सरकारीमा सिल, निजीमा उघारो

प्रशासनको खेलाँची : सरकारीमा सिल, निजीमा उघारो

चौलानी डिपार्टमेन्टल स्टोरमा १६ जना कर्मचारीमा संक्रमण भयो, तर सिल परै जाओस् स्वास्थ्य मापदण्ड पनि अपनाइएन

कोरोना महामारीका बीच पनि अहिले विभिन्न कार्यालयसँगै व्यापार व्यवसाय सञ्चालन छन् । मालपोत कार्यालयदेखि डिपार्टमेन्टललगायतका भीडभाड हुने क्षेत्र पनि अहिले सञ्चालनमा छन् । दसैँ नजिकिएसँगै डिपार्टमेन्टल स्टोरहरुमा भीडभाड पनि निकै बढेको छ ।

कैलालीमा भने सरकारी कार्यालयको एक जनामा कोरोना देखिए एक सातासम्म सिल हुने र निजी क्षेत्रका एक दर्जन बढी कर्मचारीमा कोरोना देखिँदा पनि खुल्लमखुल्ला व्यवसाय भइरहेको छ ।
असोज २६ गते कैलाली जिल्ला मालपोत कार्यालयमा कार्यरत तीन जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखियो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्तिक ३ गतेसम्म मालपोत कार्यालय सिल गरियो । तर, धनगढी बजारमा सञ्चालित एक व्यवसायिक फार्ममा कार्यरत एक दर्जन भन्दाबढी कर्मचारीमा कोरोना देखिँदासमेत प्रशासनले सिल गरेन ।

धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरमा कार्यरत १६ जना कर्मचारीमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, त्यो डिपार्टमेन्टल स्टोर सिल त परै जाओस् स्वास्थ्य मापदण्डमा समेत सुधार हुन सकेको छैन । जिल्ला मालपोत कार्यालय कैलालीले भने कर्मचारीमा कोरोना देखिएसँगै संक्रमण नफैलियोस् भनेर सिल गरेको जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका शाखा अधिकृत उद्धवसिंह कार्कीका अनुसार कर्मचारीमा कोरोना देखिएपछि अन्यको रिपोर्ट नआउँदासम्म ८ दिन कार्यालय सिल गरिएको हो । ८ दिन सिल गरेर सबै कर्मचारीको कोरोना परीक्षण गर्दा अन्यमा नदेखिएपछि पुनः काम सुरु गरेको उनले बताए ।

सरकारी कार्यालयको एक जनामा मात्रै कोरोना संक्रमण देखिदा पनि सिल हुने तर, निजी क्षेत्रको दर्जनभन्दा बढी कर्मचारीमा संक्रमण हुँदासम्म सुुरक्षा मापदण्डनै पालना नभएको देख्दा नागरिकमा पनि आक्रोश बढेको छ । सामाजिक सञ्जालमार्फत् समेत धनगढीका अगुवाहरु यसरी कोरोना संक्रमण भयावह बन्ने भन्दै दुःख व्यक्त गरिरहेका छन् ।

कोरोनालाई मजाकमा उडाएर निजी क्षेत्रलाई प्रशासनले नै संरक्षण गरिरहेकोसमेत सर्वसाधारणको आरोप छ । एक दर्जनभन्दा बढी कर्मचारीमा कोरोना देखिँदासम्म पुरानै तरिकाले डिपार्टमेन्टल स्टोर खुल्ला राख्दा कोरोना संक्रमण बढ्न सक्ने धनगढीका प्रिन्स घिमिरेले बताए । यस्ता विषयमा प्रशासनसँगै स्थानीय सरकार गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।

प्रशासनले पनि सरकारी कर्मचारी र निजीका कर्मचारीमा नै विभेद देखाएको छ । सरकारी कर्मचारीमा त्यही कर्मचारीले काम गर्नुपर्ने नयाँ जनशक्ति थप्न नसक्ने अवस्था भएकाले सिल गर्नुपरेको प्रशासनले जनाएको छ । तर, चौलानी डिपार्टमेन्टल स्टोरले नयाँ कर्मचारीमार्फत् अहिले काम गराइरहेको समेत प्रशासनको दाबी छ ।

चौलानी डिपार्टमेन्टल स्टोरले कोरोना पोजेटिभलाई आइसोलेसनमा राखी नयाँ कर्मचारीमार्फत् काम गराइरहेकाले सिल नगरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएपछि अहिले नियमित काम सुरु भएको छ । यस्तै कैलालीको गोदावरी नगरपालिकाका एक कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गरिएको छ । तर, निजी क्षेत्रमा दर्जनौंको संख्यामा कोरोना संक्रमित देखिँदासम्म एक दिन पनि सिल भएको छैन । निजी डिपार्टमेन्टल स्टोर सिल गर्नमा प्रशासननै चुकेको छ ।

कोरोनाले भयाभह अवस्था सिर्जना गरिरहेका बेला निजी क्षेत्रलाई बचाउन प्रशासनको समेत पूर्ण हात रहेको देखिएको छ । सरकारी कार्यालय सिल हुने, कोरोनाले भयाभह अवस्था सिर्जना हुँदा पनि निजी क्षेत्रलाई संरक्षण गरिरहने भएपछि आगामी दिनमा धनगढी कोरोनाको हब नै नबन्ला भन्न सकिन्न ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु