गृहपृष्ठ सहयोगबाटै १ करोड नेपालीले लगाउँदै छन् कोरोनाविरुद्धको खोप

सहयोगबाटै १ करोड नेपालीले लगाउँदै छन् कोरोनाविरुद्धको खोप

नेपालले सहयोगी राष्ट्र एवं दातृ निकायबाट कोरोना भाइरसविरुद्धको १ करोड ५ लाख मात्रा खोप सित्तैमा पाउने भएको छ । हालसम्म भारतले १० लाख मात्रा खोप नेपाललाई प्रदान गरेको छ भने चीनले ५ लाख मात्रा दिने प्रतिबद्धता जनाइसकेको छ ।

त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत नेपालले करिब ९० लाख मात्रा खोप पाउँदै छ । त्यसमध्ये पहिलो चरणमा करिब २२ लाख ५६ हजार नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप तीन साताभित्र नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाको निःशुल्क खोप फेब्रुअरी अन्तिम सातासम्म नेपाल आइपुग्ने भएपछि स्वास्थ्य मन्त्रालयले खोप अभियानको तयारी पनि थालिसकेको छ ।

कोभ्याक्स सुविधाको अन्तरिम वितरणअनुसार नेपालले पाउने खोपमध्ये पहिलो चरणमा करिब ३ प्रतिशतलाई पुग्ने गरी अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप आइपुग्नेछ । कोभ्याक्स सुविधाअन्तर्गत चार चरणमा नेपालका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउँदै छ । भारतले उपलब्ध गराएको खोप पनि अस्ट्राजेनेकाकै उत्पादन हो ।

कोभ्याक्सबाट नेपालले चार महिनाभित्रमा सबै खोप पाउनेछ । अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप एक महिनामा दुई पटक लगाउनुपर्ने हुन्छ । यो खोपको प्रभावकारिता ७०.४२ प्रतिशत रहेको कोभ्याक्स अभियानले जनाएको छ । खोपले दुवै मात्रा खोप लगाएको दुई महिनापछि संक्रमणविरुद्ध सुरक्षा दिन थाल्नेछ । तथापि, खोप लगाइएको करिब १५ दिनदेखि नै संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन थाल्ने अक्सफोर्ड र अस्ट्राजेनेकाको दाबी छ  ।

कोरोनाविरुद्धको खोपमा धनी देशहरूको नियन्त्रण रहने र विपन्न देशहरू पछि पर्ने चिन्ताका बीच कोभ्याक्स नाम गरेको एउटा महत्त्वकांक्षी अन्तर्राष्ट्रिय अभियानले धनी वा गरिब सबैलाई समान ढंगले वितरण गर्ने लक्ष्य लिएपछि नेपालका लागि खोप सुनिश्चित भएको हो । कोरोना फैलिएको चार महिनापछि अप्रिलमा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र खोपबारे पैरवी गर्ने दुईवटा समूहले नेतृत्व गरिरहेका छन् । कोभ्याक्सले विश्वका १८० भन्दा बढी देशमा खोपको पहुँच पुर्‍याउने लक्ष्य लिएको जनाइएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसका अनुसार कोभ्याक्स अभियानअन्तर्गत फेब्रुअरीबाट वितरण हुने खोप गरिब र मध्यम आय भएका देशमा पुग्नेछ । कोभ्याक्सले सन् २०२१ भित्र संसारभर दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने लक्ष्य लिएको छ । त्यसमध्ये एक अर्ब ३० करोड मात्रा खोप ९२ गरिब देशका करिब २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी उपलब्ध गराइने कोभ्याक्सले जनाएको छ । यही प्रणालीअनुसार नेपालका पनि २० प्रतिशत नागरिकले खोप पाउने भएका हुन् ।

कोभ्याक्स अभियानअन्तर्गत प्रत्येक वर्ष दुई अर्ब मात्रा खोपको उत्पादन हुने भएको छ । यसरी हेर्दा विश्वका अनुमानित ७.८ अर्ब मानिसका लागि खोप पु‑याउन कम्तीमा चार वर्ष लाग्ने देखिन्छ ।

खोपका लागि कोभ्याक्सले हालसम्म २ अर्ब ४ करोड डलर जुटाएको छ । खोपको लक्ष्य पूरा गर्न अरु ४ अर्ब ६ करोड डलर लाग्ने अनुमान गरिएको छ । हालसम्म बेलायतले ७३ करोड ४ लाख अमेरिकी डलर (८६ अर्ब रुपैयाँभन्दा बढी) सहयोग उपलब्ध गराउने भएको छ । तर, सहयोगको अपेक्षा गरिएका रुस र अमेरिकाले कुनै योगदान दिएका छैनन् । तथापि, अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोभ्याक्स अभियानमा आबद्ध हुने बताएका छन् ।

बेलायतले सहयोगमा लिड गरिरहेको अभियानबाट कोरोनाविरुद्ध खोप उपलब्ध हुने भएपछि सोमबारमात्रै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेलायती समकक्षी लर्ड अहमदलाई धन्यवाद दिएका छन् । बेलायतले नेपालसहितका अतिकम विकसित मुलुकलाई कोभिड १९ विरुद्धको खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले बेलायती समकक्षी अहमदसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन् ।

संवादका क्रममा मन्त्री ज्ञवालीले कोभ्याक्समार्फत खोप सहयोग गर्न लागेको भन्दै बेलायतको सराहना गरेका छन् । नेपालसहित अन्य अतिकम विकसित देशहरू कोभ्याक्स सुविधाको खोपबाट लाभान्वित हुनेछन् । मानव समुदायले सामना गरिरहेको महामारीको साझा चुनौतीलाई सम्बोधन गर्न द्विपक्षीय र बहुपक्षीय तहमा ठोस प्रयासको आवश्यकतामा पनि मन्त्री ज्ञवालीले जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु