गृहपृष्ठ ट्राफिक महाशाखाले सम्बन्धित धनीलाई बुझायो २५ वटा मोटरसाइकल

ट्राफिक महाशाखाले सम्बन्धित धनीलाई बुझायो २५ वटा मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई मंगलबार  जिम्मा लगाइएको छ ।

मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेहरुको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको विशेष अपरेसन टोली परिचालन गरी चोरीमा संलग्न मानिससहित मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो । सोही क्रममा महाशाखाको सादा पोशाकको टोलीले यही असोज ९ गते गोकर्णेश्वरबाट चोरी भएको बजाजको २२० सीसीको पल्सर मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका- ८ घर भएका २६ वर्षीय बिष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आजै महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ ।

मिजारले गितराज पाख्रिनको प्रदेश ३-०२-०११ प ७०१७ को पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३-०२-०११ प ५२३६ नम्बर राखी चलाएको अवस्थामा हिजो बौद्धबाट पक्राउ गरेको हो । उपत्यकाका बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी आज २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरन लगायतका उपकरण जडान गर्नसमेत मोटरसाइकल चालकहरुलाई सुझाव दिएका छन् ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा lost vehicle application मा लगइन गरेर निवेदन दिन र फेला परेको जानकारीसमेत लिन सकिने व्यवस्था रहेको एसएसपी भट्टराईले बताए । महाशाखाले आर्थिक वर्ष ०७७/७८ मा २३३ वटा मोटरसाइकल अनुसन्धानका लागि नियन्त्रणमा लिई सम्बन्धित धनी पत्ता लगाई १९६ वटा मोटरसाइकल जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ३९ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाइसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए ।

हराएका मोटरसाइकल चोरसहित पक्राउ गरी चोरी नियन्त्रण कार्यमा उत्कृष्ट कार्य गर्ने पीडित सहायता इकाइमा कार्यरत प्रहरी हवल्दार जिवराज पछाई र प्रहरी जवान हस्त बहादुर मगरलाई पुरस्कृतसमेत गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु