गृहपृष्ठ हेलिकप्टरबाट सुत्केरीको उद्धार
हेलिकप्टरबाट सुत्केरीको उद्धार

ताप्लेजुङमा बच्चा जन्मिने क्रममा रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर लगेर उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो ।
लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सिरिजंघा ५ का अध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकप्टर मगाएको उनले जनाकारी दिए ।
‘हेलिकप्टर आउन्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएका हौँ,’ उनले भने । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ ।
गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँगाउँमै स्वास्थ्य सेवाको पहुँच बढाउँदै लकेको छ । समुदायले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्यचौकीमा आवश्यक उपकरण जोड्दै गएको हो ।
गत सातादेखि फक्ताङलुङ ५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्नका लागि भिडियो एक्सरे सेवा सुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए । मुटुको स्वास्थ्य अवस्था परीक्षण गर्न ईसीजी सेवा गत हप्तादेखि सुरु भएको छ । जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपालिकामै दिन लागिएको गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।
विगतमा भिडियो एक्सरे, ईसीजी र प्रयोगशालको प्रयोग गर्न सदरमुकामसम्म पुग्नुपर्थ्यो । गाउँपालिकाले एक चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिइरहेको प्रवक्ता लामाले बताए । आफ्नै गाउँमा भिडियो एक्सरे, ईसीजी र प्रयोगशाला सेवा लिन पाउने भएपछि खुसी लागेको स्थानीय पूर्णकुमारी लिम्बूले बताइन् ।
फक्ताङलुङ गाउँपालिकाको जनसंख्या १४ हजार ८८४ छ । सातवटा स्वास्थ्यचौकी र आठ सामुदायिक स्वास्थ्य एकाइबाट गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । (रासस)
प्रकाशित समय ०८:३१ बजे