गृहपृष्ठ आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै

फाइल तस्बिर

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । सोनाम ल्होसारका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । कोरोना महामारीका कारण यो वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर ल्होसार मनाइने उनले बताए ।

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको ‑याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माविपरिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाँदै छ । देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ । (रासस)

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु