गृहपृष्ठ ‘दाइजो दिएको मोटरसाइकल नामसारी गर्न नसक्दा छोरीले ज्यान गुमाउनुपर्यो’
‘दाइजो दिएको मोटरसाइकल नामसारी गर्न नसक्दा छोरीले ज्यान गुमाउनुपर्यो’
प्रहरी कार्यालयमा कुसुमकी आमालगायत ।
मिथिलाविहारी नगरपालिका– ३ की २२ वर्षीय कुसुमकुमारी मण्डललाई उनकै श्रीमानले हत्या गरेको माइती पक्षको दावी छ । आफ्नो छोरीको कुटपिटबाट गत शुक्रबार राति हत्या भएको कुसुमका बुवा जिवछ मण्डलले आरोप लगाए ।
दाइजोमा दिएको मोटरसाइकल नामसारी नगरेको भन्दै ज्वाइँले यसअघि पनि छोरीलाई पटक–पटक कुटपिट गर्ने गरेको उनले बताए । ‘ऋण लिएर छोरीको बिहे गराएँको हुँ । मोटरसाइकल किनेको १ लाख रुपैयाँ तिर्न बाँकी नै भएकाले ज्वाइँको नाममा तत्काल नामसारी गर्न सकिएन,’ उनले भने, ‘यसकै कारण छोरीले ज्यान गुमाउनु पर्यो ।’
उनले बाँकी रकम जसोतसो तिरिसके पनि ब्याज तिर्न बाँकी रहेकाले आगामी माघसम्म सबै चुक्ता गरी ज्वाइँको नाममा मोटरसाइकल नामसारी गर्ने योजना बनाइरहँदा छोरी ‘मारिएको’ बताए । घटनाबारे आफूलाई भोलि बिहान मात्र खबर गरिएको उनको भनाइ छ । मण्डलका अनुसार छोरी शव अस्पताल पु¥याएपछि मात्र उनलाई खबर गरिएको थियो ।

प्रहरीले कुसुमका पति प्रकाश र ससुरा रामचन्द्र मण्डललाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए ।
सिरहाको गोलबजार नगरपालिका– ८, चोहर्वास्थित भाइजी टोलका जिवछ मण्डलकी छोरी कुसुमको २५ वर्षीय प्रकाशसँग गत वैशाख २८ गते विवाह भएको थियो । स्थानीयहरुका अनुसार दुलही पक्षले नगद डेढ लाख, २ तोला सुन, १५ तोला चाँदी, फर्निचर र मोटरसाइकलसमेत गरी करिब १५ रुपैयाँ बराबरको दाइजो दिएको थियो ।
प्रकाशित समय १७:२९ बजे

















