गृहपृष्ठ घरमै २१ महिने नाबालिकामाथि चितुवाको आक्रमण

घरमै २१ महिने नाबालिकामाथि चितुवाको आक्रमण

chituwa_newskarobar

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका ३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । ‘छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ,’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘होहल्लापछि थप घटना हुन पाएन ।’

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । फागुन २८ गते पनि चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका ५ याम्पाका ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए ।

चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । २० महिनाको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट ९ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात चितुवा नियन्त्रणमा लिइएको छ । (रासस)

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु