गृहपृष्ठ प्रदेश २ का महिला सबैभन्दा असुरक्षित, यौनजन्य हिंसा प्रदेश १ मा बढी

प्रदेश २ का महिला सबैभन्दा असुरक्षित, यौनजन्य हिंसा प्रदेश १ मा बढी

चालु आर्थिक वर्ष २०७६/७७ को जेष्ठ महिनासम्म १४ हजार १ सय २५ जना महिला हिंसामा परेका छन् । यसमध्ये १० हजार ५ सय १५ जना महिलामाथि घरेलु हिंसा भएको छ ।

घरेलु हिंसाको शिकार हुने महिलाहरु प्रदेश २ मा बढी देखिन्छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको ११ महिनामा ३ हजार १ सय ९६ जना प्रदेश २ का महिलाहरु घरेलु हिंसामा परेका छन् ।

घरेलु हिंसामा पर्ने महिलाहरुको संख्या उपत्यकामा २ हजार ३ सय १६, प्रदेश ५ मा १ हजार ५ सय ८६, बागमती प्रदेशमा ९ सय ७०, गण्डकी प्रदेशमा ८ सय ५०, सुदुरपश्चिममा ५ सय ७४, कर्णालीमा ५ सय ५७ र प्रदेश न. १ मा ४ सय ६६ रहेको छ । तथ्यांकअनुसार प्रदेश १ मा सबैभन्दा कम महिलाहरु घरेलु हिंसामा परेका छन् ।

यौनजन्य हिंसा प्रदेश १ मा बढी

घरेलु हिंसापछि महिला तथा बालिकाहरु सबैभन्दा बढी जबर्जस्ती करणीको हिंसामा परेको पाइएको छ । चालु आवको ११ महिनाभित्र १९ सय ४४ जना महिला तथा बालिका यौनजन्य हिंसाबाट पीडित बनेका छन् । यौनजन्य हिंसाअन्तर्गत जबर्जस्ती करणी, मानव बेचबिखन, अपहरण जबर्जस्ती करणी, जबर्जस्ती करणी गरी ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी गरी कर्तव्य ज्यानजस्ता हिंसा रहेका छन् ।

जबर्जस्ती करणीको हिंसामा पर्ने महिलाहरु प्रदेश १ मा बढी ४ सय ४२ महिला तथा बालिका यौनजन्य हिंसामा परेका छन् । यौन हिंसाका शिकार भएका महिलाहरु प्रदेश ५ मा ३ सय १६, प्रदेश २ मा २ सय ६८, बागमतीमा २ सय ३६, उपत्यकामा २ सय ३६, सुदुरपश्चिममा १ सय ७९, गण्डकीमा १ सय ४२, र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय २५ जना रहेका छन् ।

बहुविवाहका हिंसा पनि उस्तै

जबर्जस्ती करणीपछि बहुविवाहका कारण महिलाहरु हिंसामा परेको तथ्यांकले देखाएको छ । चालु आवदेखि जेठसम्मको अवधिमा ६ सय ६७ महिलाहरु बहुविवाहको हिंसा सहन बाध्य भएका छन् । सबैभन्दा बढी प्रदेश १ मा महिलाहरु बहुविवाहको हिंसामा परेका छन् । त्यसपछि क्रमशः उपत्यकामा ९४, बागमती प्रदेशमा ८३, प्रदेश ५ मा ८२, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा ७७, कर्णाली प्रदेशमा ७० र सुदूरपश्चिममा ५५ जना महिला बहुविवाहको हिंसामा परेका छन् ।

६ सय १५ महिला तथा बालिका यस ११ महिनाको अवधिमा जबर्जस्ती करणी उद्योगको हिंसामा परेका छन् । यस्ता हिंसाका कारण सबैभन्दा बढी प्रदेश १ मा १ सय ५३ जना पीडित भएका छन् । त्यसपछि क्रमशः प्रदेश २ मा ८७, प्रदेश ५ मा ८६, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा ५८, सुुदूरपश्चिममा ५५, कर्णाली प्रदेशमा ५२ र सबैभन्दा कम उपत्यकामा ४४ जना रहेका छन् ।

बाल यौन दुराचारका घटना २ सय ३

चालू आवको ११ महिनासम्म २ सय ३ जना बालिका बाल यौन दुराचारको हिंसामा परेका छन् । सबैभन्दा बढी प्रदेश १ मा ५१ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ३ जना बालिकामाथि यौन दुराचारको हिंसा भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक बाल यौन दुराचारका हिंसाका घटना बागमती प्रदेशमा ३४, प्रदेश ५ मा ३१, प्रदेश २ मा ३०, गण्डकीमा २६, उपत्यकामा २२, सुदूरपश्चिममा ६ रहेका छन् ।

बालविवाहका घटना ६०

११ महिनाको अवधिमा ६० जना बालिकाको बालविवाह भएको तथ्यांक छ । सबैभन्दा बढी प्रदेश २ मा १२ जना बालिका कम उमेरमै विवाह गर्नुपर्ने वाध्यतामा परेका छन् । उपत्यकामा भने ३ जना बालिकाको उमेर नपुगी विवाह भएको देखिन्छ । त्यसपछि प्रदेश ५ मा ११, कर्णालीमा ९, बागमती प्रदेशमा ९, प्रदेश १ मा ७, सुदुरपश्चिममा ५ र गण्डकी प्रदेशमा ४ जना बालिका बालविवाहको शिकार भएका छन् ।

बोक्सीको आरोपमा हुने दुर्व्यवहार प्रदेश २ मा बढी

चालु आवको जेष्ठ महिनासम्मको तथ्यांकअनुसार ३४ जना महिलाले बोक्सीको आरोपमा दुव्र्यवहार खेपेका छन् । तथ्यांक हेर्दा, सबैभन्दा बढी प्रदेश २ मा १७ जना महिलाले यस्तो हिंसा सहनुपरेको देखिन्छ । त्यसपछि प्रदेश १ मा ७, गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा २, सुदुरपश्चिममा २, बागमती प्रदेशमा १, प्रदेश ५ मा १ र उपत्यकामा भने यो हिंसाको घटना घटेको तथ्यांकमा उल्लेख छैन ।

सुदूरपश्चिममा जातीय छुवाछूत बढी

११ महिनाको अवधिमा २८ जना महिला जातीय छुवाछूतको हिंसामा परेका छन् । तथ्यांकअनुसार सुुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९ जनाले जातीय छुवाछूतजन्य हिंसा भोगेका छन् । त्यसपछि बागमती प्रदेशमा ६, प्रदेश १ मा ३, प्रदेश ५ मा ३, प्रदेश २ मा २, गण्डकी प्रदेशमा २, उपत्यकामा २ र कर्णालीमा १ जना छन् ।

गर्भपतन प्रदेश २ मा बढी

२६ जना महिलाहरु यस अवधिमा गर्भपतनको शिकार भएका छन् । सबैभन्दा बढी प्रदेश २ का महिलाहरुले जबर्जस्ती गर्भपतन गर्नुपरेको तथ्यांकमा उल्लेख छ । त्यसपछि प्रदेश १ मा ३, गण्डकी प्रदेशमा ३, सुदूरपश्चिममा ३, उपत्यकामा २, प्रदेश ५ मा २, कर्णालीमा २ छन् । बागमती भने यस प्रकारको हिंसा देखिएको छैन ।

अप्राकृतिक मैथुनको हिंसा पनि प्रदेश १ मै बढी

२४ जना महिलामाथि अप्राकृतिक मैथुनजस्ता हिंसा भएको छ । प्रदेश १ मा सबैभन्दा बढी ९ जना महिला हिंसामा परेका छन् । त्यसैगरी प्रदेश २ मा ६, गण्डकी प्रदेशमा ४, बागमती प्रदेशमा १, उपत्यकामा १, प्रदेश ५ मा १, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिमा १ जना हिंसामा परेका छन् ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु